रवि लामिछानेले जे गरे पनि आफूलाई कानुन लाग्दैन भन्ने व्यवहार देखाए

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि बुधबार संवैधानिक इजलासमा अग्राधिकारसहित सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले बहस सकेका छन् ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे। खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट बहस हुनेछ ।
बुधबारको बहसमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुन: प्राप्तिका लागि कुनै पनि प्रक्रियामा नगएको बताएका छन् । लामिछानेले भने नागरकिता ऐनको दफा १०(१) बमोजिमको आफ्नो अवस्था भए पनि नियमावलीको नियम ११ मा कायम नरहेको नागरिकताको बारेमा कुनै पनि कार्यविधि उल्लेख नगरिएकाले तसर्थ स्वत: पुनः कायम हुने दलिल पेस गरेका थिए । उनले दफा १० (१) को अवस्थामा कसैले निर्णय गर्नुपर्ने, जारी गर्नु पर्ने स्वीकृति गर्नु पर्ने जस्ता अवस्था लागू नहुने र अमेरिकी नागरिकता त्याग गरेपश्चात ऐनको दफा ११ अनुसार पुन: नेपाली नागरिकता कायम हुन आएको बताएका थिए ।
बुधबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले लामिछानेले दफा ११ को प्रक्रिया स्वीकार गरेको तर पूरा नगरेको दलिल पेस गरे । नियम ११ मा नै दफा ११ उल्लेख भएको हुँदा दफा ११ स्वीकार गर्नेले नियम ११ लाई अस्वीकार गर्न नमिल्ने उनीहरूको तर्क थियो । उनीहरूले भनेका थिए, ‘नियम ११ लाई दफा ११ बाट कानुन छल्न मिल्दैन । प्रक्रियामा जाँदै नगई वा प्रक्रियामा जाँदा अवरोध सिर्जना भएको स्थापित नगरी आत्मगत रुपमा कार्यविधिलाई दोष दिन मिल्दैन । १०(१) को अवस्थाको व्यक्तिको नागरिकता पुनःप्राप्तिसम्बन्धी कार्यविधि नै छैन भने कायम नभएको नागरिकता न त स्वतः कायम हुन सक्छ, न त कायम गराउन नै सकिन्छ ।’
अमेरिकी पासपोर्टमा नेपाल छिरेको १६औं दिनमा नेपाली पासपोर्ट
रवि लामिछानेले २०७५ साल असार ६ गते अमेरिकी नागरिकता त्यागेको निस्सा भिसा प्रयोजनका लागि अध्यागमन विभागलाई जानकारी गराएको जवाफ दिएका छन् । तर उनको विपक्षमा बहस गरेका अधिवक्ताहरूले भने उक्त जानकारी भिसा अध्यावधिक प्रयोजनका लागि मात्रै भएको बताएका छन् । सो प्रयोजनको निवेदनबाट नागरिकता प्राप्ति वा पुन: प्राप्त हुन नसक्ने अधिवक्ताहरूको तर्क छ । तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा अनुसूची ११ र १२ बमोजिम त्याग गरेको निस्सासहित लामिछानेले निवेदन नदिएको उनीहरूको तर्क छ ।
अध्यागमन विभागमा निवेदन दिएका बेला रवि लामिछाने अमेरिकी नागरिक नै रहेको पनि अधिवक्ताहरूको तर्क छ । ‘सो समयमा उनले अमेरिकी नागरिकता त्याग गर्न प्रक्रिया अघि बढाएको देखिन्छ तर प्रक्रिया पूरा भई निजको अमेरिकी नागरिकता खारेज भएको आधिकाररिक निर्णय मिति२०७५/०३/१४ मा मात्रै भएको छ । अमेरिकी नागरिकता त्याग नै नभएको अवस्थामा त्यागेको निस्सा छ भनी तथ्यगत रूपमै भ्रम सिर्जना गरी निवेदन दिएबाट अमेरिकी नागरिकता त्याग गरेको प्रमाणित हुन सक्दैन । बरु सरकार र सरकारी निकायलाई दिग्भ्रमित गर्ने कोसिस गरेको भने देखिन्छ,’ उनीहरूले तर्क गरे ।
अमेरिकाको नागरिकता परित्याग गरेपश्चात नेपालमा बसोबास गर्न भिसा लिन नपर्ने भएको हुँदा भिसा नलिई बसोबास गरेको लामिछानेको तर्क थियो । तर रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले जे गरे पनि आफूलाई कानुन लाग्दैन भन्ने व्यवहार देखाएको बताए । उनीहरूले बहसका क्रममा भने, ‘अध्यागमन ऐन, २०४९ को दफा २ (ख) अन्तर्गन तत्काल नेपाली नागरिक नभएको व्यक्तिलाई विदेशी सम्झनु पर्छ भनी व्यवस्था भएको हुँदा निज रवि लामिछानेले नेपालको नगारिकता पुनःप्राप्त नगरेको अवस्थामा पनि आफूले भिसा लिन नपर्ने दलिल गर्नु भनेको आफूले जे गरे पनि हुन्छ आफूलाई कानुन लाग्दैन भन्ने नै हो । निजलाई कानुनको दायरामा ल्याउन नसक्नु राज्यको पनि लाचारीपन हो । यस किसिमको दण्डहीनता सभ्य समाज र कानुनको शासन भएको मुलुकमा कल्पना पनि हुन सक्दैन ।’
यस्तो छ रिट निवेदकले सर्वोच्चमा पेस गरेको बहस नोट
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, #रवि लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्