Techie IT
आईतबार, वैशाख ७,२०८२

विश्वकप उपाधिसँगै लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडी


काठमाडौं । आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४(२ गोलले हराउँदै उपाधि जितेको हो ।

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाउनुभयो । निर्धारित समयमा २(२ र अतिरिक्त समयमा ३(३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गर्नुभयो । उहाँले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राख्नुभएको थियो ।

पाँचौं पटक विश्वकप खेल्नुभएका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रच्नुभएको छ । उहाँले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्नुभएको हो ।

फाइनल खेलमा दुई गोल गर्नुभएका मेस्सीले यस विश्वकपमा सात गोल गर्नुभयो । उहाँले चार गोलका लागि असिस्ट पनि दिनुभएको थियो । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी हुनुभएको दोस्रो पटक हो । यसअघि उहाँले सन् २०१४ को विश्वमपमा पनि यस अवार्ड जित्नुभएको थियो ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गर्नुभएको छ । मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको थियो ।

छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गर्नुभएका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुम्नुभएका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाड्नुभएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #लियोनल मेस्सी, #विश्वकप उपाधिसँगै लियोनल मेस्सी सर्वोत्कृष्ट खेलाडी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545