Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प छैन: चिरिबाबु महर्जन


काठमाडौं । ललितपुर उप-महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अब मेट्रो रेलको विकल्प नभएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा काठमाडौं महानगरपालिकाका जुझारु प्रमुख बालेन्द्र साह ‘बालेन’लाई साक्षी राखेर उपत्यकामा मेट्रो रेलको आवश्यकता औंल्याएका हुन् ।

काठमाडौं उपत्यकामा दिनहुँ बढिरहेको सवारी साधनको चाप, सडक विस्तारमा भइरहेको समस्या र ढिलाई तथा उचित ट्राफिक व्यवस्थापनको दृष्टिकोणबाट मेट्रो रेल आवश्यक भइसकेको धारणा व्यक्त गरे । त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि जुन सहरभित्र ३० लाख जनसंख्या हुन्छ, त्यो ठाउँको निमित्त मेट्रो अपरिहार्य रहेको उनको भनाइ थियो । महर्जनले ३० लाख जनसंख्या भएको ठाउँमा मेट्रो चलाउँदा घाटामा नजाने निष्कर्ष अन्तर्राष्ट्रिय अध्ययनहरूको भएको चर्चा गर्दै भने, ‘ठ्याक्कै नाफामा नआए पनि ब्रेक इभन प्वाइन्ट (बीईपी) मा पुग्छ भन्ने छ ।’

त्यसैले काठमाडौंमा मेट्रो रेल ल्याउन बिलम्ब गर्न नहुने उनको भनाइ छ । बरु अरु कुनै योजनाहरू कट्टीमट्टी गरेर भए पनि मेट्रो रेल निर्माणको प्रक्रिया अविलम्ब प्रारम्भ गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै उनले उपत्यकाभित्रको संस्कृति र सम्पदाको जगेर्ना गर्न काठमाडौं महानगरसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले पनि उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि र सम्पदाहरुको संरक्षणमा जोड दिए । उनले ललितपुर महानगरसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।

मेट्रो रेलबारे देउवा र साह मौन

ललितपुर उपमहानगरका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेलको आवश्यकता औंल्याए पनि त्यसबारे सँगै मञ्चासिन प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरका प्रमुख बालेन साहले कुनै चासो दिएनन् । दुवै अतिथिले पूर्वनिर्धारित भाषण गरेर कार्यक्रमबाट बाहिरिए ।

देशको जल्दोबल्दो समस्या र जनजिवीकासँग जोडिएको विषयमा प्रधानमन्त्री देउवा र काठमाडौंका प्रमुख साहले ‘होस्टेमा हैैंसे’को अभिव्यक्ति दिन्छन् कि भन्ने आम अपेक्षा भए पनि उनीहरूले त्यसतर्फ ध्यानै दिएनन् ।

त्यसो काठमाडौंमा मेट्रो रेलको प्रसङ्ग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उजागर गरेका थिए । त्यसलाई काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले केही हदसम्म प्रक्रिया अगाडि बढाएका थिए । तर, खर्चका हिसाबले धेरै महङ्गो हुने भएकाले महानगरले तत्काल अघि बढाएन ।

त्यसका लागि केन्द्रीय सरकार प्रदेश सरकारसँग छलफल पनि चलाइएको थियो । तर, बीचमै राजनीतिक उतारचढाव आएर सरकार परिवर्तन भएपछि मेट्रो रेलको प्रसङ्ग हराएको थियो ।

महर्जनले मेट्रोको आवश्यकता औंल्याउँदै भनेका छन्, ‘पहिले हामीले महङ्गो भयो भनेर प्रक्रिया अघि बढाएनौँ, जतिबेला डलरको मूल्य १०८ रुपैयाँ थियो । अहिले हामीलाई रेलको आवश्यकता झनै बढेको छ, तर डलरको मूल्य १३४ रुपैयाँ पुगन लागेको छ, अझै ढिलो गर्‍यौँ भने २०० पुग्ला अनि महङ्गो भयो भनेर नबनाउने त ? होइन, बनाउनै पर्छ, ढिलो नगरौँ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चिरिबाबु महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545