Techie IT
बिहीबार, माघ ३,२०८१

मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय


गोरखा। गोरखाको ठूलो आँगन भत्काएर बीचमा पृथ्वीनारायण शाहको सालिक बनाउने विषयमा मतभेद चुलिदै गएपछि बुधवार पुनः नगरपालिकामा सर्वदलीय छलफल भयो । ठूलो आँगनको बीचमा सालिक निर्माण गर्ने, नेपालको नक्सा सहितको मनोग्राम निर्माण गर्ने र हरेक दिन नेपाली सेनाको गुरुज्यूको पल्टनले परेड खेल्ने गरी कार्यक्रम तय भएको थियो ।

सालिक निर्माणकालागि ठूलो आँगनको बीच भागमा निर्माण सुरु गरेपछि उक्त बाटो भएर आउजाउ गर्ने नारेश्वर, पोखराथोक, गैरीकुवा, सतिपिपल लगायतका स्थानीयले बाटो अवरुद्ध हुने भन्दै निर्माण कार्य रोकिदिए ।

ठूलोआँगनको बिच भागमै सालिक निर्माण गर्ने वा फरक ठाउँमा गर्ने भन्ने विषयमा बुधवार छलफलमा सहभागीहरुले फरक फरक धारणा राखेका छन् ।

नगरप्रमुख कृष्णबहादुर राना मगरले गाडीको लागि बैकल्पिक बाटोको ब्यवस्था गरिने प्रतिवद्धता ब्यक्त गरे । साथै उनले गोरखालाई पर्यटकीय हबको रुपमा बिकास गर्ने योजनासहित नगरपालिका अघि बढेको बताउँदै यो कार्यक्रम संचालनमा सहयोग गरिदिन अनुरोध गरे ।

नारेश्वर, सतिपिपल, माथिल्लो दरबार, लगायत क्षेत्रमा गाडीजाने बैकल्पिक बाटोको लागि काम अघि बढिसकेको उनले बताए । हरेक दिन नेपाली सेनाले बिहान बेलुकी परेड खेल्दा यहाँ पर्यटक बास बसेर हेर्नेछन्’ नगरप्रमुख रानाले भने ‘यसले गोरखाको पर्यटन प्रर्वद्धनमा मद्धत पुग्छ ।’ ठूलो आँगन मात्र नभएर नगरभित्र बिस्तारै पर्यटकीय केन्द्रहरुको बिकास गर्दै लैजाने योजना रहेको उनले बताए । ठूलो आँगनमा गाडी नरोकिने र सतिपिपल हुँदै नारेश्वरतर्फ जाने बैकल्पिक सडकको रुपमा धारापानी, कालोबर हुँदै दुबै सडकलाई सहज बनाउने प्रयास भइरहेको उनले बताए ।

कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चुलबहादुर कुँवरले ठूलो आँगनको बीचमा सालिक राख्नुको उद्देश्य गाडी छेक्नु भएको दाबी गरे । ‘मध्यपहाडी लोकमार्गसँग गाउँ, बस्ती सडक सञ्जालले जोडिँदैछ । अब यहाँबाट बाटो रोकेर कसरी बिकास हुन्छ ?’ उनले प्रश्न गरे ।

ठूलो आँगन क्षेत्रमा पर्यटक भित्र्याउने नै योजना हो भने विश्वसम्पदा सूचीमा राख्ने विषयमा त्यहाँका स्थानीयले बिरोध गरेको, कंक्रिटका घरहरु निर्माण गरेको, ठूलो आँगन अतिक्रमण गरेर पेटी निर्माण गरेकोतर्फपनि ध्यान दिन उनले आग्रह गरे । साथै उनले गोरखा संग्रहालयको तल्लो गेट ठूलो आँगनका स्थानीयकै स्वार्थका कारण १५ बर्षदेखि नखोलिएको आरोप लगाए ।

जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठले गोरखा बजार क्षेत्रमा पर्यटक आकर्षित गर्न र यहाँको बिकासकालागि ठूलो आँगनको बीचमै सालिक राखेर यो कार्यक्रम तत्काल अघि बढाउनुपर्ने तर्क गरे । ‘यो एउटा नमुना नयाँ कार्यक्रम हो, अहिले कसैले यसको बिरोध नगरौँ’, ठूलोआँगन भत्काएर बीच भागमा सालिक राख्ने पहिलो प्रस्ताबकसमेत रहेका श्रेष्ठले भने, ‘एक जनाले बिरोध गरेपनि यो कार्यक्रम हट्न सक्छ, सबैको सहयोगले यो कार्यक्रम गरौँ । अन्यत्र जाने बाटोको ब्यवस्था नगरपालिकाले तत्काल बजेट छुट्याएर बनाईदिओस् ।’

कार्यक्रममा नारेश्वर सेवा समाजका कमल दानीले ठूलो आँगनको बीचमा भन्दा सालिक अन्यत्रै राख्न उपयुक्त हुने बताए । सालिक राख्ने ठाउँको बिकल्प खोज्नुपर्ने र आउजाउलाई सहज बनाउनुपर्ने बताउँदै उनले भने, ‘राजमार्ग भएकै ठाउँमा बिकासले फड्को मारेको छ, हामी यहाँ बन्द गर्दैछौँ ।’

गोरखा उद्योग बाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले यो कार्यक्रमकाले गोरखाको पर्यटन क्षेत्र, ब्यापार ब्यवशाय प्रर्वद्धन हुने बताए । ‘यो हामी जस्ता ब्यवशायीकालागि खुसीको कुरा हो’, उनले भने, ‘ठूलो आँगनमा सालिक बनाउँदा पनि गाडी आउजाउ गर्न समस्या छैन तर बैकल्पिक बाटोको रुपमा चिल्ड्रेनपार्क हुँदै जाने सडकलाई सहज बनाइनुपर्छ ।’ बैकल्पिक बाटो भएपछि ठूलो आँगनको बिचमा सालिक राखेर परेड खेल्दा यहाँ आउने पर्यटकका कारण ब्यापार, ब्यवशायलाई धेरै फाईदा हुने हुँदा जसरी पनि यो कार्यक्रम संचालन हुनुपर्नेमा उनले जोड दिए ।

बैठकका सहभागी प्रवीण बस्नेतले यो कार्यक्रमको बिरोध नभई उपयुक्त बैकल्पिक बाटोको माग पहिला संवोधन हुनुपर्ने बताए । ‘कार्यक्रम होस्, ठूलो आँगनमा भैँसी राँगा पालेपनि पाल्नुहोस् तर हाम्रो बाटो छेक्नु, थुन्नु भएन, अन्यत्र पनि सालिक बनाउन सकिन्छ होला, त्यो खोजौँ ।’

मानव अधिकारकर्मी यदु अधिकारीले गोरखाकोलागि पृथ्वीनारायण शाहको सालिक र परेड खेल्ने कुरा ऐतिहासिक भएको बताए । साथै उनले उक्त कार्यक्रमको प्रशंसा गर्दै थपे, ‘बाटोको माग छ त्यो नगरपालिकाले पूरा गरेर यो कार्यक्रम पनि सफल बनाउनुपर्छ ।’

नेपाली कांग्रेसकी प्रतिनिधि बिनाकुमारी श्रेष्ठले यो कार्यक्रम पर्यटकीय दृष्टिकोणले उपयुक्त भएको बताइन् । साथै उनले बैकल्पिक सडकको ब्यवस्थापनमा ध्यान दिँदै ठूलो आगनमा सालिक निर्माण हुँदा गोरखाको पर्यटन क्षेत्रको बिकासमा मद्धत पुग्ने बताईन् ।

नेकपा एमालेका प्रतिनिधि देवीबहादुर बस्नेतले गोरखाको लागि उक्त कार्यक्रम राम्रो भएको बताए । उनले बैकल्पिक बाटो खोल्ने काम तत्काल गर्नुपर्ने र कार्यक्रम संचालन गर्न आफ्नो पार्टीको तर्फबाट सहयोग हुने बताए ।
छलफलमा माओवादी केन्द्रका प्रतिनिधि रामहरी केसीले बिभिन्न देशको उदाहारण दिँदै यो कार्यक्रमले गोरखाको पनि पहिचान र प्रचार प्रसारमा मद्धत पुग्ने बताए ।

दलका प्रतिनिधि सबैले गोरखाकोलागि यो कार्यक्रम राम्रो रहेको बताएका थिए । स्थानीयको माग अनुसार सडकको ब्यवस्थापनमा पनि ध्यान दिन सुझाब दिए ।

बुधवारको बैठकले नगरपालिकाले बैकल्पिक मार्गको स्तरोन्नतिको काम तत्काल गर्ने, ठूलो आँगन क्षेत्रको अब्यवस्थित पार्किङलाई ब्यवस्थित गर्ने, ठूलोआँगन आसपास निर्माण भएका अस्थायी संरचना, घरका पेटी तत्काल हटाउन वडा अध्यक्षले पहल गर्ने, हलुका सवारी साधन र दुई पाङ्ग्रे सवारी साधन सालिक निर्माण भएपछि पनि बन्द नगर्ने निर्णय भएको छ । ठूलो आँगनको बीच भागमै सालिक बनाउने विषय बुधवारको छलफलपछि निर्णयमा उल्लेख गरिएको छ । दरौँदी दैनिक


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #पृथ्वीनारायण शाह, #मतभेदकै बीच सालिक ठूलो आँगनको बीचमै राख्ने निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Haze
6:54 am5:32 pm +0545