Techie IT
आईतबार, वैशाख ७,२०८२

कैलालीको एउटै क्षेत्रबाट तीन महिला सांसद


धनगढी । प्रतिनिधिसभामा कैलालीको एउटै निर्वाचन क्षेत्रबाट तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

कैलाली क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित एक जना र समानुपातिकतर्फ दुई गरि तीन जना महिला सांसदको सहभागिता हुने भएको हो ।

दलहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेश गरेको पछिल्लो विवरणमा क्षेत्र १ बाट दुई जना महिला उम्मेदवारको नाम सिफारिस भएको छ । योसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीन जना महिला सांसदको यात्रा तय भएको छ ।

यो क्षेत्र १ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएपनि जनता सांसद विहीन झैँ हुनुभएको थियो । चौधरीलाई टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै कारावासको फैसला गरेपछि चौधरी कारागारमा रहनुभएको छ ।

बिगत ५ वर्षमा जनप्रतिनिधि विहीन यो क्षेत्रले यसपालिको निर्वाचनबाट तीन जना सशक्त महिला सांसद पाएको छ । कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यस्तै समानुपातिकतर्फ नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने र नेकपा माओवादी केन्द्रबाट रुपा सोसी चौधरी सिफारिस हुनुभएको छ ।

श्रेष्ठ नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष हुँदा न्यौपाने काँग्रेस केन्द्रीय सदस्य र चौधरी माओवादीका केन्द्रीय सदस्य रहनुभएको छ । श्रेष्ठको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यस अघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सक्नुभएको छ ।

पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तिनै जना महिला एकै पटक, एक साथ संघीय संसदमा चुनिदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणका लागि निकै सहयोग पुग्ने राजनीतिक बिश्लेकहरुको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कैलाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545