Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेले छान्यो प्रतिनिधिसभामै एक तिहाइ महिला


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ । संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एमालेले प्रतिनिधिसभामै त्यो संख्या पुर्याएको हो ।

एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् । प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । राष्ट्रिय सभामा एमालेका १६ सांसदमध्ये ९ महिला छन् ।

एमालेले प्रतिनिधिसभामा समानुपातिकबाट महिला १९ जना पठाउँदा पनि संवैधानिक व्यवस्थाअनुसार हुने थियो । पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामै एक तिहाइ महिलाको प्रतिनिधित्व गराउने प्रस्ताव राख्नुभएको थियो । उहाँको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।

एमालेले खसआर्य पुरुषबाट रघुजी पन्त (काठमाडौं), एकनाथ ढकाल (गोरखा) र दयालबहादुर शाही (बाजुरा) लाई पठाएको छ । शाही पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्छन् । त्यसैगरी खसआर्य महिलामा मेनकाकुमारी पोखरेल (दाङ), सरिता भुसाल (नवलपरासी), शोभा ज्ञवाली (बर्दिया), बिजुला रायमाझी (अर्घाखाँची), निर्मला कोइराला (सिन्धुली), सम्झना थपलिया (सिरहा), दीपा शर्मा (दैलेख) र सुनीता बराल (झापा) लाई चयन गरेको छ ।

आदिवासी जनजाति पुरुषमा देवीप्रकाश भट्टचन (बागलुङ), हेमराज राई (भोजपुर), कालुराम राई (झापा) छनोट भएका छन् । आदिवासी जनजाति महिलातर्फ नैनकला थापामगर (रूपन्देही), सूर्यकुमारी श्रेष्ठ (दैलेख), उर्मिला थेबे (ताप्लेजुङ), ईश्वरी घर्ती (रोल्पा), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौं), सरस्वती सुब्बा (सर्लाही) को नाम एमालेले पठाएको छ ।

थारू महिलातर्फ आस्माकुमारी चौधरी (दाङ) र शान्ति चौधरी (बर्दिया), दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक (दोलखा), प्रभु हजारा दुसाध (पर्सा) र चन्द्रबहादुर विश्वकर्मा (रुकुम पश्चिम) चयन हुनुभएको छ भने दलित महिलातर्फ रुक्मिणी राना बराइली (काभ्रे) र हर्कमाया विश्वकर्मा (झापा) छानिएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव (सिरहा) र अमृतलाल राजवंशी (झापा), मधेसी महिलामा बिना देवी (रौतहट), अमृतादेवी अग्रहरी (कपिलवस्तु) र प्रतीक्षा तिवारी मुखिया (धनुषा) को नाम एमालेले पठाएको छ । मुस्लिमतर्फ सराज अहमद फारुकी (कपिलवस्तु) छानिनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545