Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्याव्सकले मंगलबारदेखि फुटसल आयोजना गर्ने


काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याव्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ ।
संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थी सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्डमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याव्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए । प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयको संख्या थपिन सक्ने पनि श्रेष्ठको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगदसहित प्रमाणपत्र र ट्रफी, दोस्रो हुने टिमले ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित प्रमाणपत्र र ट्रफी पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए । विद्यार्थीको सीप विकास गर्ने उद्येश्यले प्याव्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै गरेको पनि प्याव्सकका महासचिव श्रेष्ठले जनाए ।
१८ वर्षअघि स्थापना गरिएको प्याव्सकले पटक पटक विभिन्न प्रकारका कार्यक्रम गर्दै आएको जनाएको छ । प्याव्सकले यसअघि प्रिन्सिपलबीच पनि फुटसल प्रतियोगिता गरेको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्याव्सकमा ४० भन्दा बडी निजी तथा आवासीय विद्यालय समावेश छन् ।


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545