Techie IT
शनिबार, वैशाख ६,२०८२

बागलुङमा सिडियो र एसपीको सहकार्यले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न


बागलुङ । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको बागलुङमा यसपटक कुनै पनि अप्रिय घटना नभई निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले निर्वाचन अघि नै सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक तयारी गरेका थिए ।

चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि जिल्लामा कुनै प्रकारको अप्रिय घटना हुन नपाएको प्रहरी उपरीक्षक ज्ञवाली बताउँछन् ।

सिडिओ र एसपीले शान्ति सुरक्षाको विषयमा भने निकै चलाखीपूर्ण तरिकाले अध्ययन गरेका कारण उनीहरु सफल भएको राजनीतिक दलकै प्रतिनिधिहरु बताउँछन् ।

बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको थियो । क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका २ का लागि तोकिएको एक मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको थियो ।

पच्चीस मतदानस्थलमध्य आठ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताएका थिए । मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको र अति संवेदनशील र संवेदनशील केन्द्रको तयारी पनि सोही अनुसारको भएकोले पनि यसपटक त्रुटिरहित निर्वाचन सम्पन्न भएको उनलेे बताए ।

भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको थियो । निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरेकाले पनि निर्वाचन त्रुटिरहित ढंगले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एसपी ज्ञवालीले मत गणनास्थल र वरीपरीको क्षेत्रलाई गहन रुपमा विश्लेषण गरी सुरक्षाकर्मी खटाएका थिए भने उनलाई सिडिओ ढकालले आवश्यक सहयोग पनि गरेका थिए । यसरी सिडिओ र एसपीबीचको तालमेलका कारण जिल्लामा भयरहित रुपमा निर्वाचन सम्पन्न भएको स्थानीय बताउँछन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545