कर्णाली प्रदेश : प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक
कर्णाली । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुई वटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार बिसी पराजित हुनुभएको छ । थानीको पक्षमा ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार बिसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गर्नुभएको छ । थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गर्नुभयो । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । उहाँले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराउनुभयो ।
यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित हुनुभयो ।
यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराउनुभयो । शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहनुभयो ।
यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी हुनुभएको छ । उहाँ २२ हजार आठ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई दश हजार आठ सय ६० मतान्तरले उहाँले पछाडि पार्नुभयो । यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहनुभएका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै जानुभएको छ भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ ।
प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक
कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरू १० ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी हुनुभएको छ ।
कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित हुनुभयो । यस्तै दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसक्नुभएको छ । उहाँले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभयो ।
यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी हुनुभएको छ । उहाँले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाउनुभयो ।
यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ । एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराउनुभएको हो । भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ ।
सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गर्नुभयो । जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाउनुभएको छ ।
कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गर्नुभयो । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी हुनुभएको हो । यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी हुनुभएको छ ।
कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायलाई पछाईले पराजित गर्नुभएको हो । पछाई सात हजार आठ सय १५ मतले विजयी हुनुभएको हो । रोकायले छ हजार सात सय २२ मत प्राप्त गर्नुभएको हो । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुनुहुन्छ । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आकलन गरिएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णाली
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्