Techie IT
बिहीबार, माघ ३,२०८१

गण्डकी प्रदेशमा काँग्रेसको अग्रता


काठमाडौँ । । गण्डकी प्रदेशका अधिकांश जिल्लाहरूका मतगणना जारी छ । गण्डकी प्रदेशका केही क्षेत्रको नतिजा आइसकेपनि धेरै क्षेत्रमा मतगणना जारी छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनु भएको छ । उहाँले एमालेका पोल्देन छोपाङ गुरुङलाई तीनसय बढीको मतान्तरले पराजित गर्नु भएको हो । मुस्ताङको एक मात्र प्रतिनिधिसभामा पनि काँग्रेसले बाजी मारिसकेको छ । कांग्रेसका योगेश थकाली गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गर्नु भएको हो ।

लमजुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना बाँकी नै छ । ८० हजार ९१७ मत खसेको यस क्षेत्रमा २३ हजार ८७० मत गणना भएको छ । यहाँ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ हजार ६१७ मत ल्याएर अग्रता लिनु भएको छ । सुरुवाती अग्रता लिनु भएका माओवादी केन्द्रका महासचिव देव गुरुङले ९ हजार ७९७ मत ल्याएर पछ्याइरहनु भएको छ ।

तनहुँका २ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २ हजार ४३५ मत ल्याएर अग्रता कायम राख्नु भएको छ भने नेकपा एमालेका एकबहादुर रानाले २ हजार ३४५ मत ल्याउनु भएको छ । तनहुँ २ मा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १९ हजार २२१ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङका १५ हजार ६९० मत ल्याउनु भएको छ ।

गोरखा १ मा पनि नेपाली कांग्रेस नै अगाडि छ । ८९३ मत गन्दासम्म कांग्रेसका राजेन्द्र बजगाईँले ६६४ मत ल्याउँदा नेकपा एमालेका रामशरण बस्नेतले ११६ मत मात्र ल्याउनु भएको छ ।

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले अगाडि हुनुहुन्छ । १० हजार ४३६ मत गन्दा प्रचण्डको ५ हजार ९८१ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीको १६ सय ८४ र नेकपा एमालेका अब्दुस मियाँको १४ सय ३८ मत रहेको छ ।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिनु भएको छ । उहाँले ३ हजार ८३४ मत ल्याउँदा नेकपा एमालेका सूर्य पाठकले ३ हजार ५२८ मत ल्याउनु भएको छ ।

बागलुङ २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल सुरुवाती चरणबाटै अग्रता लिनु भएको थियो । पौडेलले ६ हजार १७ मत ल्याउँदा नेकपा एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसेले ४ हजार ७५४ मत प्राप्त गर्नु भएको छ ।

म्याग्दीमा दिउसो केही घण्टा मत गणना रोकिएको थियो । एउटै वडाको १ सय ४ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि मतगणना जारी गरिएको छ । पछिल्लो मत परिणामअनुसार म्याग्दीमा नेपाली कांग्रेसका खम्बिर गर्बुजाले ५ हजार ३७० मत ल्याएर अग्रता कायम गर्नु भएको छ भने उहाँलाई नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ४ हजार ६४९ मत सहित पछ्याइरहेका छन् ।

कास्की १ मा नेकपा एमाले अगाडि छ । मादी ५ को वडाबाट मुचुल्कामा भएको भन्दा १ सय मत बढी भेटिएको भन्दै अहिले मतगणना स्थगित भएको थियो । यहाँ एमालेका मनबहादुर गुरुङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पछि पार्नु भएको छ । मान बहादुर गुरुङले ४ हजार २ सय ७९ मत प्राप्त गर्दा नेपाली काग्रेंसका किशोर दत्तवारले ३ हजार २ सय ८६ मत प्राप्त गर्नु भएको छ ।

कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल सुरुवाती अवस्था बाट नै अग्रस्थानमा हुनुहुन्छ । उहाँले ३ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका विद्या भट्टराईले ३ हजार ३९९ मत प्राप्त गर्नु भएको छ । नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले २ हजार ३८८ मत पाउनु भएको छ ।

कास्की ३ मा नेकपा एमाले अगाडि छ । एमालेका दामोदर पौडेल बैरागीले ४ हजार ८५१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार ४०७ मत पाएका छन् । माओवादी उम्मेदवार रामजीप्रसाद बराल जीवनले ३ हजार २०७ मत ल्याउनु भएको छ ।

स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता कायमै राख्नु भएको छ । उहाँले दुई हजार ४५५ मत ल्याएर नेकपा एमालेका नारायण मरासिनीलाई दुईसय मतको अन्तरले पछि पार्नु भएको छ । स्याङ्जा २ मा भने मतगणना सुरु हुन सकेको छैन । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनले धाँधली गरेको भन्दै पुन मतदान गराउन माग गर्दै आयोगलाई निवेदन समेत दिएका थिए ।

पर्वतमा पनि नेपाली कांग्रेस नै अगाडि छ । पर्वतमा कांग्रेस उम्मेदवार अर्जुन जोशीले ६ हजार ३९१ मत ल्याउँदा एमालेका पदम गिरीको ५ हजार ८९४ मत छ ।

नवलपुरका दुवै क्षेत्रमा कांग्रेस नै अगाडि छ । नवलपुर १ मा नेपाली कांग्रेसका शशाङ्क कोइरालाले ७ हजार ८ मत ल्याउनु भएको छ भने नेकपा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाउनु भएको छ ।, नवलपुर २ मा पनि नेपाली कांग्रेसका विष्णु कार्की नै अगाडि रहनु भएको छ । भने कार्कीले ५ हजार ९५१ मत पाउँदा एमालेका तिलक महतले ४ हजार ८४५ मत ल्याउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #गण्डकी प्रदेशमा काँग्रेसको अग्रता, #मतगणना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:54 am5:32 pm +0545