Techie IT
सोमबार, वैशाख ८,२०८२

मकवानपुरमा निर्वाचनको तयारी पूरा


मकवानपुर। मकवानपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित ढङ्गबाट सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयो ।

निरौलाका अनुसार जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायतले तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार जिल्लाभित्रको १६५ मतदान स्थलका ३६४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमका साथै सहायक कर्मचारीहरूलाई नियुक्ति पत्र र भत्ता समेत प्रदान गरिसकिएको छ । मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन सम्पन्न गर्न जिल्लाका ३६४ मतदान केन्द्रमा खटिने ७२८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र थप ७२ जना गरी ८ सय जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको साथै हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ जना कर्मचारी परिचालन गरिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि जिल्लामा २ हजार ५ सय निजामती कर्मचारी र ५ सय सहायक स्तरका शिक्षकहरूलाई खटाइएको निरौलाले बताउनुभयो ।

निरौलाका अनुसार सुरक्षाका दृष्टिले जिल्लाका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थल अति संवेदनशील, ६० वटा संवेदनशील र ८० वटा मतदानस्थल सामान्य सूचिमा राखिएको छ । सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्लामा १ हजार ६९९ म्यादी परिचालन गरिएको छ ।

तीन लाख ७३३ मतदाता रहेको मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #मकवानपुर, #मकवानपुरमा निर्वाचनको तयारी पूरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545