Techie IT
शनिबार, वैशाख ६,२०८२

समृद्धिका लागि देशमा एमालेको नेतृत्व अपरिहार्य: टोपबहादुर रायमाझी


बुटवल। नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अताल्लिएका पार्टीहरूले मोर्चाबन्दी गरेको बताएका छन् । सरकार बाहिर रहे पनि एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरू गठबन्धन गरेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्थामा पुगेको रायमाझीले बताए ।

शनिबार बुटवलमा नेकपा एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अर्घाखाँचीमा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताए । उनले भने– ‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरू गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ ?’

एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रासका कारण सत्तामा रहेका दलहरूले गठबन्धन बनाए पनि जनता साथमा रहेको एमालेलाई कुनै डरत्रास नभएको उनको भनाई थियो । नेता रायमाझीले भने–‘कसले के काम गर्यो, जनताले हिसाब गरेर बसेका छन् ।’

डेढ दशकअघिको अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्याङ्कन गरेको बताउँदै नेता रायमाझीले गठबन्धनविरुद्धको सन्देश स्थानीय तहको निर्वाचनमा दिइसकेको बताए ।
उनले भने– ‘अहिले हामीले मेहनत गरेका योजनामा अरुले नाम राखेर प्रचार गर्नुपर्ने अवस्था छ, त्यसको साटो हामी सरकार बाहिर रहेको समयमा किन काम हुन सकेन ? त्यसको उनीहरूसँग कुनै जवाफ नै छैन, हामीले सुरु गरेका महत्वपूर्ण आयोजनाहरू रोक्ने काम भएको छ, यो सन्देश लिएर जनतासामु जानुपर्छ ।’

‘स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीबाट देशव्यापी सन्देश दिने काम भएको छ, अब गठबन्धन गरेर चुनावमा हामी बलियो छौं भनेर जनताले पताउनेवाला छैन, अरुबेला जिल्लामा नटेक्ने, विकासका काममा कुनै सरोकार नराख्ने, चुनावको बेला आएर चर्का कुरा गरेर कसैले पत्ताउनेवाला छैन’–नेता रायमाझीले भने ।

जिल्लामा भौतिक पूर्वाधारको विकाससँगै कृषिको आधुनिकीकरण, व्यवस्थित बजारीकरण र खानेपानी तथा विद्युतको व्यवस्थापन, स्वास्थ्य र शिक्षाको व्यवस्थापन, बढ्दो बसाईसराई रोक्न दीर्घकालीन योजना र पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन योजना पार्टीले योजना बनाएर लागेको उनले बताए ।

कार्यक्रममा अर्घाखाँची प्रदेश सभा २ का उम्मेदवार रामजी घिमिरे, समानुपातिक उम्मेदवार बिजुला रायमाझी, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल लगायतले पार्टीले चुनावमा गरेका प्रतिद्धवतालाई पूरा गर्ने बताए । अर्घाखाँचीबाट आएर रुपन्देही आसपासमा बसोबास गरेका एमाले निकट विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अन्तक्रियाका लागि कार्यक्रम राखिएको अध्यक्ष डबल बिसीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #‘समृद्धिका लागि देशमा एमालेको नेतृत्व अपरिहार्य’, #hot, #टोपबहादुर रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545