Techie IT
शनिबार, वैशाख ६,२०८२

‘नो नट अगेन’ माथिको बन्देज विरुद्धको रिटमाथि सुनुवाइ सुरु


सामाजिक सञ्जालको पेज ’नो नट अगेन’ लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आइतबार सुनुवाइ भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।

अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ‘नो भोट’ को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ‘नो नट अगेन’का पेजमाथि बन्देज लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गर्दै रिट दर्ता गराएका थिए ।

जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा ‘नो नट अगेन’ को अभियान गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ । वाक स्वतन्त्रतामाथि बन्देज लगाउने गरी निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै ‘नो नट अगेन’ लगायतका पेजहरू पूर्ववत रुपमा सञ्चालनमा गर्न दिने गरी परमादेश दिन समेत माग गरिएको छ ।

कात्तिक १४ गते दर्ता भएको रिट पेसीमा चढेपनि पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ भएको हो । आइतबारको सुनुवाइपछि नो नट अगेन लगायतका पेजमाथि बन्देज लगाउने आदेश उत्प्रेषणको आदेशबाट बदर भएमा नो नट अगेनका कार्यक्रम यथावस्थामा सञ्चालनमा जान पाउनेछन् । सर्वोच्चले उक्त निर्देशनका विषयमा कारण देखाउ आदेश मात्रै जारी गरेको अवस्थामा भने निर्वाचन आयोगको निर्देशन र निर्णय नै कार्यान्वयनमा जानेछ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #‘नो नट अगेन’ माथिको बन्देज विरुद्धको रिटमाथि सुनुवाइ सुरु, #breaking, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545