Techie IT
आईतबार, वैशाख ७,२०८२

कैद मिनाहा पाएको ब्यक्तिबाटै अर्को हत्या


चितवन । कर्तव्य ज्यान कसुर मुद्दामा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (शुक्रबार) राती साँढे दस बजेको समयमा माडी नगरपालिका वडा नंम्बर ४ शितलपुर घोसरी बस्ने ३४ बर्षीया जीवन नेपालीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी घाँटीको रुद्रघण्टीको भागमा रेटी बिभत्स हत्या गरेको आरोपमा प्रहरीले गैडाकोट नगरपालिका वडा नंम्बर ७ घर भई २ महिनादेखी मृतककै घरमा बस्दै आएका ३४ बर्षीया सुरेश बहादुर कुमाललाई आज (शनिबार) बिहान पक्राउ गरेको हो ।

कुमालले नेपालीलाई उनैको घरमा अन्य सदस्य कोही नभएको मौका छोपी घारिलो हतियारले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार आरोपित कुमालले नेपालीको हत्या गरेपछि ५० मिटरको दुरीमा रहेकी रुपा नेपालीको घरमा गई कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी तानेर लुटपाट गरी हत्याको समेत प्रयास गरेका थिए । उनलेे घरमा सुतिरहेको अवस्थामा गइ लुटपाट गर्नुको साथै, उनको घाँटी समेत थिचेको र पछि मर्‍यो भन्ने लागे पश्चात सो स्थानबाट भागेका थिए ।

घट्नालगत्तै जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीको विशेष टोलीले आरोपित कुमाललाई आज बिहान सवा पाँच बजेको समयमा माडी नगरपालिका वडा नंम्बर ३ बसन्तपुरस्थित भित्री सडकखण्डबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

शंकास्पद रूपमा लुकीछिपी हिडिरहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेका कुमालले १० बर्ष अगाडी पनि आफ्नै हजुरआमा र काकीलाई कर्तव्य गरी मारेको कसूरमा नवलपरासी जिल्ला अदालतको आदेशले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

जन्मकैद सजाय पाएका उनी २०७९ सालको संविधान दिवसको अवसरमा बाँकी कैद सजाय मिनाहा भई कारागार कार्यालय भिमफेदी मकवानपुरबाट छुटेका थिए । कारागारबाट छुटेको डेढ महिना नबित्दै कुमाल पुनः हत्याकै आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545