Techie IT
शनिबार, वैशाख ६,२०८२

डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का दुई पात्रलाई थप आर्थिक सहयोग


चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का दुई पात्रलाई थप आर्थिक सहयोग प्रदान गरिएको छ ।

बिहीबार काठमाडौँमा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्मात्री शारदा गैरेको उपस्थितिमा अर्घाखाँचीका ऋषी खनाल र मकवानपुरकी प्रिया विश्वकर्मालाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

लम्जुङ समाज अमेरिकाका अध्यक्ष शशी थापा र उनकी पत्नी अप्सरा कुँवरले ऋषीको छोराको शिक्षामा सहयोग पुगोस् भनेर प्रदान गरेको २ सय अमेरिकी डलर (२२ हजार ४ सय नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको हो ।

यस्तै, युनाइटेड शेर्पा एशोशियन तथा यूएस–नेपाल अनलाइन अमेरिकाबाट विष्णुमाया परियार र प्रदीप परियार थापाले प्रियाका लागि पठाएको १५१ अमेरिकी डलर (१७ हजार नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको छ ।

२०७२ बैशाख १२ गतेको भूकम्पमा परि यी दुवैले एक÷एक वटा खुट्टा गुमाएका छन् । पीडितमध्ये खनालले ‘भाग्यले बाँचेकाहरु’ बने यता विभिन्न क्षेत्रका सहयोगीहरुबाट १२ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।

०७२ सालको भूकम्पमा परि चमत्कारिक रूपमा बाँच्न सफल भएकाहरुको घटनामा आधारित चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ विश्वका १३ वटा भाषामा अनुवाद गरिएको छ ।

फिल्म विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ भने १७ वटा अवार्ड जित्न सफल भएको छ । ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रर्दशन भएको पहिलो नेपाली डकुमेन्ट्री फिल्म हो । यसलाई केही महिना अघि अमेरिकाको न्यू जर्सी राज्यले समेत सम्मान गरिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भाग्यले बाँचेकाहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545