Techie IT
आईतबार, वैशाख ७,२०८२

राडर गन सहित ट्राफिक प्रहरी सडकमा, तीब्र गतिमा सवारी चलाए कार्वाही हुने


चितवन । तीब्र गतिका कारण सवारी दुर्घटना बढ्न थालेपछि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले सवारी चेकजाँचमा कडाइ गर्न सुरु गरेको छ ।

अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने भयलाइ मध्ययनजर गर्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) सहित राजमार्गमा खटिएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रवि कुमार पौडेलका अनुसार सडकको स्तरोन्नति भएसँगै सवारी दुर्घटनाको जोखिम समेत बढ्दै गएकोले चेकजाँचमा कडाइ गर्नुपरेको बताए ।

खुला र फराकिलो सडकको लाभ अनुचित ढंगले उठाउँदै तीव्र गतिमा सवारी साधन दौडाउने प्रवृत्ति कायम नै छ । यसरी तीव्र गतिमा दौडिएर आफूलाई र अन्यलाई समेत दुर्घटनाको जोखिममा पार्ने सवारीचालकलाई “अन द स्पोर्ट्” कार्वाही गर्ने गरेका छौँ, उनलेे भने । जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढ्दै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान सुरु गरेको बताए । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छ’, प्रमुख पौडेलले भने ।

यता, प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक रामकृष्ण सापकोटाका अनुसार चितवनमा भएको दुर्घटना मध्य ६९ प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको बताए । उक्त दुर्घटनामध्य भतेरी जंगल, १७ किलो, पाँच किलो, टिकौली जंगल हुँदै खुरखुरे देखी लोथर सडक खण्डमा बढी रहेको र ती सबै दुर्घटना तीब्र गतिका कारण हुन थालेपछि प्रविधि प्रयोगमा ल्याइएको नायब उपरीक्षक सापकोटाले बताए ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पुर्व पश्चिम राजमार्गको सडकमा अभियान केन्द्रित छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र दुई किलोमीटर आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने दुई किलोमीटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको सापकोटाले बताए ।

कुन गाडी, कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख पौडेलले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश सार्वजनिक यात्रुबाहक सवारीसाधन र निजी सवारीसाधन कारवाहीमा परेका छन् ।

प्रहरीकै तथ्यांकलाई आधार मान्ने हो भने, बितेको १० दिनको अवधिमा मात्रै प्रदेश ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा २६९ वटा सवारीसाधनका चालकलाई कारवाही गरेको छ । कार्वाहीमा पर्नेहरूमा सबै चार पांग्रेकै सवारीसाधन रहेका छन् । उनीहरुबाट २ लाख ६५ हजार रुपैयाँ राजर्श्व समेत संकलन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लामा आ.व २०७९÷८० मा ३१९ वटा दुर्घटना भएकोमा ६० जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनाहरूमा धेरै तीब्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन् ।

चालकसँग ट्राफिक प्रहरीले यात्रुसंग अन्तरक्रिया, सवारीमा यात्रा गर्दा चालक सह चालकसंग गरिएको आचारण ब्यावहार, तीब्र गतिमा सवारी गुडे नगुडेको, तोकिएको भन्दा बढी भाडा लिए, नलिएको बिषयमा समेत जानकारी लिने गरेको नायब उपरीक्षक सापकोटाले बताए । त्यस्तै, चालक सँग लामो दुरिका यात्रुबाहक सवारीमा दुई चालक भए नभएको, मापसे गरे, नगरेको, आफु बचौँ अरुलाई बचाऔं भन्ने उद्देश्यले चालकसंग अन्तरक्रिया, प्रदेश ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545