Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपतिको पक्षमा एमालेनिकट अनेरास्ववियू सडकमा


 

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको खुसियाली मनाउँदै उनीहरुले विधेयकको प्रतिलिपि समेत जलाएका छन् । विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अनेरास्वयुका महासचिव समिक बडालले नागरिकता बजारमा बेच्ने चिज नभएको बताएका छन् । नागरिकतालाई गठबन्धन सरकारले आफ्नो सत्ता र कूर्सिसँग साटेको आरोप लगाए ।

“मुलुकको नागरिकता मुुलुक कै जनताले पाउनु पर्छ । यो हाम्रो गौरवको विषय हो । नागरिकता बजारमा बेच्ने चिज हैन् । राष्ट्रघाती नागरिकता विधेकविरुद्ध विरोध गरिरहेका थियौं । यो गठबन्धन सरकार आफ्नो सत्ताको कूर्सिसंग नागरिकता विधेयकलाई अगाडी सारेर गैर नागरिकलाई नेपालको नागरिक बनाउने र मुलुक भन्दा बाहिर रहने नागरिकता दिने जुन राष्ट्रघाती कदम यो सरकारले उठाएको थियो आज सम्माननीय राष्ट्रपतिले आज जनातको आवाज सुन्नु भएको छ । राष्ट्रपतिलाई हामी धन्यवाद दिन चाहान्छौं ।”

प्रदर्शनका क्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दैे ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’ ‘नागरिक विधेयक जलाउँछौं’ ‘गठबन्धनको पारले दुःख पायो साराले’ जस्ता नारा लगाएका थिए ।
दोस्रो पटक संसदबाट पारित भएर २० भदौंमा शीतल निवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिबाट सकिएको हो ।

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी कतिपयले आरोप समेत लगाएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपतिको पक्षमा एमाले निकट अखिलको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545