Techie IT
आईतबार, वैशाख ७,२०८२

यस्तो छ चितवन प्रहरीको चाडपर्व “विशेष सुरक्षा योजना”


चितवन । चाडपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन चितवन प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ ।

नजीकिदै गरेको दशैं, तिहार, छठपर्वमा हुन सक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, मादक पदार्थ सेवन गरी होहल्ला, झैंझगडा, गुण्डागर्दी जस्ता विभिन्न अपराधिक गतिविधिहरुलाइ मध्ययनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले ‘विशेष सुरक्षा योजना’ सञ्चालनमा ल्याइएको चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

अन्य दिनहरुमा समेत जिल्लाको सुरक्षा ब्यवस्थापनलाई आफूले कहिँले कमी हुन नदिएको बताउँदै उपरीक्षक अधिकारीले अन्य तुलनामा भन्दा चाडपर्वमा अपराधीक गतिविधि समेत बढ्ने भएकोले सुरक्षा योजना लागू गरिएको उनलेे बताए ।

अहिले ल्याइएको सुरक्षा योजनामा चितवनको सुरक्षा व्यवस्थालाई त्रुटिरहीत, भरपर्दो, विश्वसनीय र मजबुत बनाउनको लागी सुरक्षा रणनीति तयार गरिएको उनले बताए । हामीले यसपटकको चाडपर्वमा जिल्लालाई कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तवरले चाडपर्व मनाउन सक्छन् भनेर विशेष सुरक्षा योजना बनाएका छौं । प्रहरी उपरीक्षक अधिकारीले भने, ‘केही स्थानलाई विशेष रेखांकन गर्दै सबै ठाउँमा प्रहरीलाइ परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाउँछौं ।’

धार्मिकस्थलमा हुने भक्तजनको भीडभाड, चोरी, लुटपाट, झैझगडा एवं अपराध नियन्त्रण, कालोबजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव लगायतमा पनि प्रहरीले विशेष निगरानी बढाएका छौँ । व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, चाडपर्वमा यातायातको सहज उपलब्धता, हातहतियार तथा लागूऔषधको अवैध ओसारपसार नियन्त्रणमा पहिलेदेखि नै प्रहरी सक्रिय भएको उपरीक्षक अधिकारीले बताए ।

महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणका साथै आर्थिक कारोबार हुने स्थानमा चेकजाँच सुरु गरिएको उनको भनाइ छ । अपराध नियन्त्रणको लागि विभिन्न निकायहरुको समन्वय र सहकार्य गर्ने र पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महत्वपूर्ण स्थानमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चाडपर्वका लागि चितवन जिल्लामा ठूलो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । त्यसमा प्रहरी परिचालनको वैज्ञानिक प्रयोग अबलम्बन गरिने उनले बताए । उनका अनुसार चाडपर्वमा प्रहरी कर्मचारी पिकेट गस्तीमा खटिन्छन् भने बिहान बेलुका र दिउँसो पैदल गस्ती खटिने छन् ।

यस्तै, मोबाइल गस्ती, साइकल गस्ती, क्वीक रेस्पोन्स टिम, तत्काल परिचालन गर्न सकिने छुट्टै टिम, सर्च एन्ड सिल अभियानका लागि एरिया सिल र सर्चका, एक्बुसिङ र निगरानी, सिआरभी र क्रस चेकिङमा प्रहरी परिचालन गरिने छ । संवेदनशीलताको आधारमा त्यसलाई निक्यौल गरेर विभिन्न क्षेत्रमा चेक प्वाइन्ट राखिने उनलेे बताए ।

यसैगरी, अति विशिष्ट व्यक्तिहरूको सवारी र कार्यक्रमको सुरक्षा व्यवस्थापन र सवारी साधनहरूमा पाकेटमार हुनसक्ने भनी विभिन्न रुटका सवारीसाधनमा सादा पोशाकका प्रहरी लाई समेत परिचालन गरिने छ ।

यस्तै, सार्वजानिक सवारी साधनमा महिला हिंसा हुन गर्न नदिनका लागि सेफ्टीपिन प्रहरी परिचालन गरिने छ । चोरी नियन्त्रण, जुवातास नियन्त्रण, गुण्डागर्दी, अर्थिक कारोबार हुने स्थान, कालोबजारी, सपिङ महल, गहना पसल, दसैं बजार लगायतका ठाउँमा अपराध नियन्त्रण गर्नका लागि योजना ल्याइएको छ,’ उनले भने ।

यात्रुहरूको सहजताका लागि बसपार्कमा सेवाग्राहीलाई विशेष सुविधा दिन हेल्थ डेस्क स्थापना गरिने छ । ‘टोल-टोलमा माइकिङ गर्ने, पर्चा पम्लेटहरू वितरण गर्ने, चाडपर्व सुरक्षालाई प्रभावकारी बनाउन स्थानीयसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने योजना छ,’ उनले भने ।

यसैगरी, मुख्य चोक, व्यापारिक केन्द्र, चितवन प्रवेश गर्ने मुख्य नाकामा प्रहरीद्वारा २४ सै घण्टा सिसिटिभीबाट निगरानी गरिने उपरीक्षक अधिकारीको भनाइ छ । यो काममा तालिमप्राप्त कुकुर परिचालन गरिने उनलेे बताए । यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गरिने अधिकारीले बताए ।

‘घर जाने यात्रुहरूलाई टिकट लिन सहज होस् भनेर हेल्प डेक्स खडा गरिएको छ। यातायात व्यवस्थामा हुन सक्ने अनिमितता नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिएको छ,’ अधिकारीले भने । यात्रु ठगिनबाट रोक्न, पटका नियन्त्रण, सरकारी कार्यालयको सुरक्षा, पार्टी र तिनका भ्रातृ संगठनबाट हुने बन्द हड्ताल, यातायात अवरोध हुन नदिन प्रहरी परिचालन गरिएको उनले बताए ।

अपराधिक गतिविधि नियन्त्रणका लागि विगतमा भएका र अहिले कार्यान्वयनमा ल्याइएका नयाँ अभ्यासहरू प्रयोग गरिने छ,’ उनलेे भने, ‘चाडपर्वमा सबै नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी हामीले सुरक्षा योजना ल्याएका छौं ।’

राजनीतिकर्मीहरुले पनि चाडपर्वको अवसर पारेर चुनावी गतिविधि गर्ने भएकाले यसपटक चुनावसम्मका लागि योजना बनाइएको प्रमुख अधिकारीको भनाइ छ । चुनावमा आपसी प्रतिस्पर्धाको क्रममा फरक विचार समूहबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी योजना अघि सारिएको उनले बताए ।

चितवनमा गत स्थानीय चुनावको संघारमा केही स्थानमा राजनीतिक दलका कार्यकर्ताहरुमाथि साङ्घातिक आक्रमण भएको थियो । चार्डपर्वको समयमा बैंक तथा वित्तीय क्षेत्र र भीडभाड हुने स्थानमा आर्थिक अपराध हुने गरेको भन्दै यस क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने उनलेे जानकारी दिए ।

त्यस्तै, सुनचाँदी पसल केन्द्रित गरेर सुुरक्षा प्रदान गरिने भएको छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घट्ना भएमा तत्काल प्रहरी परिचालनका लागि ‘क्वीक रेस्पोन्स’ टिम नै बनाउने उनले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545