Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेससँग ६० सिट मागेर प्रधानमन्त्री बन्ने सपना देख्दै प्रचण्ड, कांग्रेसले मौका दिन्छ ?


भदौ । यतिबेला सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सी चलेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ६० सिट मागिरहेका छन् ।

कूल १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी प्रतिनिधि सभामा २७५ सांसद हुन्छन्, जसमा बहुमतका लागि १३८ सांसदको समर्थन चाहिन्छ । ६० सिटमा चुनाव लडेको माओवादीले बहुमत ल्याउने कुनै सम्भावना छैन, तैपनि प्रचण्ड प्रधानमन्त्री बन्ने सपना देखिरहेका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको २ दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । प्रचण्डले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने बताएका छन् ।

‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं, अब देश विकासको निम्ति वातावरण तयार भएको छ । अहिले नेपालमा जुन परिवर्तन आएको छ । राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुकोसामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्यौं,’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्री बन्ने सपना देखिराख्दा कांग्रेस एक्लै बहुमत ल्याउने गरी अधिकांश सिट आफूसँगै राख्ने दाउमा छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० सिट कांग्रेससँग नराखे विद्रोह हुने चेतावनी दिइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस, #प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545