Techie IT
बुधबार, माघ २३,२०८१

सत्तारुढ गठबन्धनमा हप्तौंदेखि भागबण्डाको लुँछाचुँडी


काठमाडौं । आसन्न चुनावपछि पनि सत्ताको बागडोर सम्हाल्ने सपना देखिरहेका सत्तारुढ गठबन्धनमा रहेका दलहरू भागबण्डाको लुँछाचुँडीमा रुमल्लिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्ने विषय यतिबेला टाउको दुखाइ बनेको छ । गठबन्धनभित्र रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भागबण्डाको लुँछाचुँडी गरिरहेका छन् ।

भागबण्डा मिलाउन पाँचै दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको हप्तौं भइसक्यो । तर कार्यदलले परिणाम दिन सकेको छैन । सिट बाँडफाँटमा भागबण्डा नमिल्दा गठबन्धनमा भाँडभैलो मच्चिने देखिएको छ ।

गठबन्धनमा रहेका साना दलहरू माओवादी, एकीकृत समाजवादी र जसपालाई कांग्रेसले पेल्न खोजेपछि कार्यदलमा सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए । ‘स्थानीय चुनावको नतिजालाई देखाएर कांग्रेसले मेरो गोरुको बाह्रै टक्का गरिरहेको छ, हामीलाई सम्मानजनक स्थान दिने अवस्था देखिँदैन,’ ती नेताले भने ।

कार्यदलमा सहमति नभएपछि अब सिट बाँडफाँटको अन्तिम टुंगो शीर्ष नेताले लगाउने भएका छन् । कार्यदलले पूर्ण सहमति विनाको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । स्रोतका अनुसार कार्यदलले प्रतिनिधि सभाका १६५ मध्ये ८०–९० सिटमा मात्रै सहमति जुटाउन सकेको छ ।

गठबन्धनको शीर्ष नेतामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पर्छन् । कार्यदलले सहमति जुटाउन नसकेकाले अब सिट बाँडफाँटको विवाद शीर्ष तहमै पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन, #सत्तारुढ गठबन्धनमा हप्तौंदेखि भागबण्डाको लुँछाचुँडी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545