Techie IT
आईतबार, वैशाख ७,२०८२

डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गर्नुभएको छ ।

बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गर्नुभयो ।

बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै  तुलसीपुर–कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताउनुभयो ।

सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित छन् भन्नुभयो  ।

सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गर्नुभयो  ।

सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गर्नुभयो ।

सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग आग्रह गर्नुभयो ।रासस


क्याटेगोरी : समाचार
ट्याग : #डेङ्गु रोग, #राष्ट्रियसभाको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545