Techie IT
आईतबार, वैशाख ७,२०८२

सहकारीकर्मीसंग अन्तरक्रिया गर्दै अध्यक्ष ओली


काठमाडौं । नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले देशभरका सहकारीकर्मीहरु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । पार्टी सम्वद्ध सहकारीकर्मीहरुको सहभागितामा भदौ १९ गते पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ ।

नेकपा एमालेको नीति, योजना र कार्यक्रमका साथै आगामी निर्वाचनको घोषणापत्रमा समेत सहकारीका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम समावेश गराउने लक्ष्यका साथ पार्टीका अध्यक्ष र सहकारीकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम गर्न लागिएको पार्टी पोलिटव्यूरो सदस्य एवं सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कमल चौलागाईले जानकारी दिनुभयो ।

पार्टीका नेताहरुमा सहकारीका विषयमा भिन्न भिन्न सोच, दृष्टिकोण र विचारहरु रहेका छन्, कुनै एउटा पार्टीले एउटै विषयमा भिन्न भिन्न धारणा सार्वजनिक गर्ने कुरा राम्रो हुदैन, समाजवाद उन्मुख अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी क्षेत्रका बारेमा मुलुकको प्रमुख पार्टीका रुपमा रहेको एमालेको एउटै दृष्टिकोण देशव्यापी रुपमा ल्याउनका लागि कार्यक्रम सहयोगी हुने जनाइएको छ ।

पार्टीले सहकारीका विषयमा स्पष्ट दृष्टिकोण बनाउन र पार्टीले बनाएको दृष्टिकोण सबै नेता कार्यकर्ता र आम समुदायमा लैजानका लागि सहयोग गर्न सहकारी विभागले सुझाव दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको छ, पार्टीका पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाईले भन्नुभयो,–‘पार्टी अध्यक्ष र महासचिव लगायतका पदाधिकारीहरुसंग सहकारीका बारेमा छलफल गरेर एमालेको स्पष्ट दृष्टिकोण बनाउन, सहकारीको प्रवद्र्धन र विकासमा योगदान गर्न तथा सहकारीका समस्या समाधानमा कार्यक्रमले सहयोग पु¥याउने छ ।’

नेपालको संविधान २०७२ मा समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी सहितको तीन खम्बे अर्थनीति ल्याउन एमालेको प्रमुख भूमिका रहेको एमाले नेताहरुको दावी छ, एमालेले तीन खम्बे अर्थनीति संविधानमा लेख्न नेतृत्वदायी भूमिका खेलेको र अर्थतन्त्रको विकासमा सहकारीको भूमिका बढाउन पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने चौलागाईले बताउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग सहकारीकर्मीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नका लागि विभागले विभागीय प्रमुख चौलागाईको नेतृत्वमा १ सय १ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरेको छ । पार्टी केन्द्रलाई सहकारीका सम्बन्धमा स्पष्ट दृष्टिकोण, योजना र कार्यक्रम बनाउन सहयोग पुग्ने गरी सहकारी तथा गरिवी निवारण विभागका तर्फबाटसहकारी सम्बन्धी दस्तावेज उपलब्ध गराउने तयारी विभागले गरेको छ । त्यसका लागि विभागीय प्रमुखको संयोजकत्वमा दस्तावेज लेखन उपसमिति समेत गठन गरिएको छ ।

दस्तावेज लेखनका लागि गठित उपसमितिको उपसंयोजकहरुमा विभागका उपप्रमुखहरु निर्मल भट्टराई र अमृता सुब्बा तथा सदस्यरुमा मिनराज कंडेल, ओमदेवी मल्ल, के.बी.उप्रेती, केशव पोखरेल, डा.खगराज शर्मा, सुदर्शन ढकाल, कृष्ण दाहाल र इन्दिरा पन्त रहनु भएको छ ।

कार्यक्रममा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापनका लागि विभागका उपप्रमुख निर्मल भट्टराईको संयोजकत्वमा रामशरण शर्मा घिमिरे, राम बहादुर जिसी, देवराज पराजुली, सुमन केसी, दिपक पनेरु र हरि पौडेल रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै आर्थिक व्यवस्थापनका लागि विभागका सचिव के.बी.उप्रेतीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिका सदस्यहरुमा परितोष पौड्याल, खेम सुवेदी, देवराज पराजुली, सरिता भट्टराई, सीता ढकाल, सागर ढकाल, महेन्द्र गिरी, सुशिल बस्नेत र इन्दिरा लामिछाने रहनु भएको छ ।

विभागले कार्यक्रमको प्रचार प्रचारका लागि राम बहादुर जिसी संयोजक र खेम सुवेदी सहसंयोजक रहेको प्रचार उपसमिति तथा हल मञ्च व्यवस्थापनका लागि टेक प्रसाद चौलागाईको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पार्टीका पदाधिकारीहरुको उपस्थितिमा हुने उक्त कार्यक्रममा एमाले सम्बद्ध अगुवा सहकारीकर्मीहरु र पार्टीको प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाका सहकारी विभाग प्रमुखहरु सहित ४ सय जना सहकारीकर्मीहरु सहभागी हुने विभागका सचिव के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटि वैठकमा पार्टीका महासचिव शंकर पोखरेले सहकारीकर्मीहरुसंग केपी शर्मा ओली कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाका सहकारी विभाग प्रमुखहरुलाई सहभागी गराउन प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाका इन्चार्जहरुलाई निर्देशन दिनु भएको विभाग प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने एमाले सम्बद्ध सबै सहकारीकर्मीहरु, प्रदेश सहकारी संघ र विषयगत संघहरुमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु, जिल्ला स्तरीय संघहरुबाट एक एक जना र पार्टीका प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका सहकारी विभागका प्रमुखहरुको सहभागिता रहने सचिव उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्नका लागि करिव ३ लाख रुपैया खर्चको अनुमान गरिएको र उक्त रकम मुल व्यवस्थापन समिति र विभिन्न उपसमितिका सदस्यहरुबाट संकलन गरिने उहाको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545