निर्वाचन लोकतन्त्रको जीवन पद्धति: प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समिति (रासस) ले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरू स्वतः अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यविधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल सरकारका पूर्व सचिवसमेत रहनुभएका प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो । यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो । मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ ।”
आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदानस्थल तथा केन्द्रहरूको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उहाँले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ/छैन भन्ने आँकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पार्नुभयो ।
स्थानीय निर्वाचनका समयमा केही समाचारका उदाहरण प्रस्तुत गर्दै उहाँले अपुष्ट तथ्याङ्क वा सुनेका भरमा मनमा बुनेर समाचार लेखिनु गलत भएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्दै निर्वाचनका लागि सबै दल र उम्मेदवारलाई बराबर स्थान दिने सिद्धान्त दिइनुपर्ने पनि बताउनुभयो । पत्रकारहरू दलीय राजनीतिक आबद्धता हुन नहुने र त्यस प्रकारको सङ्केत हुने खालका समाचार पनि दिन नहुने प्रमुख आयुक्त थपलियाले स्मरण गराउनुभयो ।
अभिमुखीकरणको पहिलो सत्रमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचन जनाधिकारलाई संस्थागत गर्ने महोत्सव भएको र निर्वाचन निरन्तर चलिरहने चक्र भएकाले यसबीचका सूचनालाई जति व्यवस्थित र पहुँचयोग्य बनाउन सक्यो त्यति नै निर्वाचनको सफलता तथा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेशकुमार थपलिया
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्