Techie IT
शनिबार, वैशाख ६,२०८२

आँबुखैरेनी गाउँपालिकाद्वारा टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि आइतबारदेखि टोलमै पुगेर दर्ता, नवीकरण र कर सङ्कलन सुरुआत गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा आयोजित शिविरमा १७ जनाले व्यवसाय दर्ता गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २२ जनाले व्यवसाय नवीकरण गरेका छन् भने ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेका छन् । शिविरको पहिलो दिन आइतबार रु एक लाख ५५ हजार राजश्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । सबै वडामा यो अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । सोमबार आँबुखैरेनी गाउँपालिका–३ कै डाँडाटोलमा शिविर सञ्चालन भएको थियो । सोमबार १७ वटा व्यवसाय दर्ता, १३ जनाले व्यवसाय नवीकरण,५३ जनाले भुमिकर तथा मालपोत कर तिरेका छन् ।

शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरिवाना रकम पनि छुट गरिने बताइएको छ ।

व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आँबुखैरेनी गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545