Techie IT
आईतबार, वैशाख ७,२०८२

बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन, जिल्लामै खपत गर्न मुस्किल


बाजुरा । यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको  छ ।

जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।

बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा राजधानी काठमाडौँसम्म भदौ दोस्रो सातासम्म पुर्‍याइने कृषि ज्ञान केन्द्र बाजुराका कृषि अधिकृत तथा सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनुभयो  ।

“कृषकहरूले स्याउ बिक्री गर्न हतार गरिरहेका छन्, तर बाजुराको स्याउ भदौ दोस्रो सातासम्म मात्र सबै हिसाबले खान उपयुक्त हुने हुँदा कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानमा किसानको बारीबाटै स्याउ उठाएर बजारीकरणका लागि देशका ठुला सहरहरूमा भदौको १५ गतेबाट पठाइदिने योजना ज्ञान केन्द्रको रहेको उहाँले बताउनुभयो ।

बर्सातले जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भई स्याउ ढुवानी गर्न समस्या हुने हो की भन्ने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानसहित बजारीकरण गरिदिने बताएपछि निकै खुशी भएका छन्।

यो बर्ष राम्रो स्याउ फल्यो तर सडक अवरुद्धले ढुवानी गरेर बिक्री गर्न नपाई बारीमै कुहिने हो की  भन्ने पिरलो थियो अब ढुक्क छौँ । स्याउले बजार पाउने भो ।” स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर–५जेराका स्याउ कृषक टेकेन्द्र सिंहले खुशी ब्यक्त गर्दै भन्नुभयो।

जिल्लाका स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिकामा उत्पादित स्याउहरू कोल्टी विमानस्थलबाट हवाई जहाजमार्फत नेपालगन्ज र बुढिनन्दाको पाण्डुसैनमा उत्पादित स्याउ  जिपमार्फत  धनगढी र सुर्खेत पठाइने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताउनुभयो  ।

निकै मीठो र अर्ग्यानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ।

बाजुरा जिल्लाभरि एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन, #स्याउ उत्पादन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545