Techie IT
आईतबार, वैशाख ७,२०८२

७ बुँदे साझा ‘पोखरा घोषणा पत्र’ जारी गर्दे सकियो महानगर मेयर सम्मेलन


पोखरा । पोखरा महानगरपालिकाले आयोजना गरेको देशभरका ६ महानगरका मेयर भेला शनिबार बेलुका सम्पन्न भएको छ । मेट्रो मेयर मिट नाम दिइएको उक्त भेलामा मेयर सहित उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति थियो । दुई दिन चलेको भेलाले ७ बुँदे साझा ‘पोखरा घोषणा पत्र’ जारी गरेको छ ।

घोषणा पत्रमा संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि सङ्घ र प्रदेश सरकारहरुसंगको समन्वय सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण २ सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्र सँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानूनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गर्ने उल्लेख गरिएको छ ।

महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र संवोधन गर्दै महानगरहरूबिच पारस्परिक सम्पर्क सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई “महानगर मञ्च नेपाल माध्यमद्वारा संस्थागत गर्न प्रण गर्ने निर्णय भएको छ । उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन नेपाल को आयोजनासँगै त्यसका प्रतिबद्धताहरूको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति भएको छ ।

संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्धतिसँग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जबाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानगर, यसका पदाधिकारी पक्ष वा विपक्षमा कानूनी रक्षा प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गइरहेको परिप्रेक्ष्यमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको सङ्गठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति जाहेर गरिएको छ ।

सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कार्यलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

यो सम्मेलनले सबैको साझा समस्या भनेको फोहोर व्यवस्थापन देखिएको र सबै महानगरको अगाडि फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको बताइएको छ । यसलाई कसरी प्रभावकारी र समय सान्दर्भिक व्यवस्थापन गर्न सकिन्छ भन्नेमा आफूहरू केन्द्रित रहेको आचार्यले बताउनुभयो ।

पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौँका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, विराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम वीरगञ्जका मेयर राजेशमान सिंह लगायतले सम्मेलनमा भाग लिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा महानगरपालिका, #महानगर मेयर सम्मेलन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545