Techie IT
आईतबार, वैशाख ७,२०८२

त्रिवि सेवा आयोगका अधिकारीले ८० लाख रकम लिएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लागि विभिन्न पदमा लिइएका परिक्षा र त्यसका अन्तरवार्तामा चरम लापरवाही र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

प्राविधिक पदका लागि लिइएको बायोमेडिकल इन्जिनियर, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, प्राविधिक अधिकृत (प्याथोलोजी, फार्मेसी)लगायतका विभिन्न पदमा लिइएका परिक्षा र अन्तरवार्तामा बोलाउँदा व्यापक चलखेल र सेटिङ भएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अधिकारीविरुद्ध त्यहाँका कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन्।

दुई बर्षअघि लिइएको परिक्षाको नतिजा ढिलोगरी प्रकाशित गर्ने काम नै शंकाको घेरामा रहेका बेला बायोमेडिकल इन्जिनियरको अन्तरवार्तामा एक जनालाई मात्र बोलाएर सेवा आयोगका अधिकारीले अनियमितता गरेको बुझिएको छ। कतिपयमा भने लिखितमा उत्तिर्ण भएकालाई पनि अन्तरवार्तामा बोलाइएको छैन।

‘कुरो नमिलेपछि नबोलाएको हुन सक्छ’, स्रोतले भन्यो।

अख्तियारमा परेको उजुरीअनुसार त्रिवि अस्पतालमा बार्षिक रुपमा करोडौंका सामान खरिद हुने र ति सामान ठिक या बेठिक छ भनी चेकजाँच गर्ने बायोमेडिकल इन्जिनियरको परिक्षामा नै मिलोमातो भएको उल्लेख छ।

‘८० लाख रुपियाँ अनुचित रुपमा रकम लिएर बायोमेडिकल इन्जिनियरमा एक जनालाई मात्र अन्तरवार्तामा बोलाइएको जानकारीमा आएको छ’, उजुरीमा उल्लेख छ,‘त्यसैले यस विषयमा छानबिन गरी कारबाही होस्।’

आइतबार कर्मचारीका तर्फबाट अख्तियारमा सी ०००१४९ नम्बरमा उजुरी दर्ता भएको छ।

२८, २९ र ३० माघ ०७७मा गरिएको परिक्षाको नतिजा दुई बर्ष लगाएर निकाल्दै सेटिङका आधारमा सेवा आयोगका उच्च तहका कर्मचारीले एक जनालाई मात्र अन्तरवार्ताका लागि छनौट गरेको हो। बायोमेडिकल इन्जिनियरको परिक्षामा सहभागी रुशा आचार्य नामकी परिक्षार्थीलाई मात्र अन्तरवार्तामा बोलाइएको छ। यस काममा मेडिकल सप्लायर्सको मिलेमतो रहेको आशंका गरिएको छ।

एक जनाको पदका लागि सेवा आयोगले १५ मंसिर ०७६ मा विज्ञापन गरेको थियो। त्यसैअनुसार २५ माघ ०७७ देखि २७ फागुन ०७७ मा एउटा र २८ कात्तिक ०७८ देखि १६ मंसिर ०७८ सम्म लिखित परिक्षा गरिएको थियो।

अन्य विभिन्न पदमा पनि यसैगरी अनियमितता गरिएको आशंका गरिएको छ।

यसअघि पनि सेवा आयोगका परिक्षामा अनियमितता भएको भन्दै अख्तियारले छानबिन गरेको थियो।

सेवा आयोगका तत्कालिन अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना मुद्दा दायर गरेको थियो। आयोगले लिएको परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अख्तियारले ठहर गरेको नजिर छ।

तीन बर्षअघि अख्तियारले तत्कालिन अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापकद्वय टेकनाथ ढकाल, गोविन्द ढकाल, सह प्राध्यापकत्रय राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजाय मागदावीसहित मुद्दा दायर गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, #त्रिवि सेवा आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545