राष्ट्रियसभाको बैठकले सदनमा प्रस्तुत तीनवटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सदनमा प्रस्तुत तीनवटा विधेयक पारित गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, सर्वसम्मतिबाट पारित गरेको हो ।
यसैगरी बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, माथिको दफावार छलफल जारी छ । छलफलमा संसदहरुले हदम्यादका विषयमा संसद्ले सर्वसम्मतिमा ल्याएको सङ्कल्प प्रस्तावको अवमूल्यन गरेको बताउनुभयो ।
बलात्कार मुद्दामा बालिक भएको ३ वर्षसम्म हदम्याद रहने गरी विधेयकमा राखिएकोप्रति असहमति जनाउँदै सच्याउनुपर्ने बताउनुभयो ।
यस्तै, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाले सन्देश सहित प्रतिनिधिसभामा पठाएका औषधि (तेस्रो संशोधन) विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), २०७९ र रेल्वे विधेयक २०७९ राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सभासमक्ष जानकारी गराउनुभएको थियो ।
यसैगरी बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७/०७८ र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७७/०७८ समेत पेश भएको छ ।
यसअघि विशेष समयमा बोल्दै सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई कूटनीतिक माध्यमबाट तत्काल पत्र लेख्नुपर्ने बताउनुभयो ।
सांसद श्रेष्ठले विगतमा भएका कमीकमजोरीका कारण नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारको निर्णयलाई अल्झाउन नहुने बताउनुभयो ।
उहाँले गभर्नर महाप्रसाद अधिकारी विवादमा आइसकेपछि त्यसको प्रष्टीकरण समेत नआएकोभन्दै उहाँले पद छाड्नुपर्ने बताउनुभयो ।
सांसद भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लामा गएको पहिरोका कारण नलगाढ जलविद्युत क्षेत्रको बाटोमा क्षति पुगेका कारण आवतजावत र यातायातमा समस्या परेकाले त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले आर्थिक सुशासन कायम गर्न नसकिएको भन्दै विगतका सरकारले गरेका कामहरूलाई निरन्तरता नदिँदा धेरै समस्याहरू निम्तिएको धारणा समेत राख्नुभयो ।
सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा गएका नेपालीले पाउने सुविधाका लागि दुई वर्षको मात्र अवधि राखेको र दुर्घटनाबापत पाउने सुविधा पनि बिचौलियाले खाइदिने गरेको बताउनुभयो ।
सांसद बेदुराम भुसालले महालेखापरीक्षकको कार्यालयले औँल्याएको बेरुजुको अङ्कले सुशासनको अवस्था देखाएको भन्दै मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा आ–आफ्नै प्रकारको रहेको स्मरण गराउँदै राष्ट्रियसभालाई उपेक्षा गर्न नहुने बताउनुभयो ।
सांसद भुसालले सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रियसभा र प्रतिनिधिसभाबीच समाचार सम्प्रेषणका विषयमा विभेद गरेको भन्दै यसलाई आफूले गम्भीरतापूर्वक लिएको धारणा राख्नुभयो ।
सांसद खिमलाल देवकोटाले संघीय संसद्को दुवै सदनको भूमिका र गरिमा समान भएको उल्लेख गर्दै राष्ट्रियसभालाई महत्त्व नदिँदा यसको औचित्य नै समाप्त हुने धारणा राख्नुभयो ।
सांसद विमला राई पौडेलले केही महत्त्वपूर्ण विधेयक संसदमा विचाराधीन रहेको उल्लेख गर्दै प्रतिनिधिसभाले वर्षाैसम्म अड्काएर राखेकोप्रति सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले मुलुकको आर्थिक अवस्था बिग्रँदै गएकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
सांसद विमला घिमिरेले सदनमा उठाइएका जनसरोकारका विषयप्रति सरकार गम्भीर नभएको भन्दै मुलुक आर्थिक सङ्कटतर्फ धकेलिरहेको बताउनुभयो ।
सांसद नारायण दत्त मिश्रले किसानका लागि आवश्यकीय वस्तु मलका विषयमा कराउँदा कराउँदै थाकिसकेको भन्दै विलासिताका बस्तु आयातमा मात्रै सरकारको ध्यान गएको धारणा राख्नुभयो ।
राष्ट्रिय सभाको आजको बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा, #राष्ट्रियसभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्