Techie IT
आईतबार, वैशाख ७,२०८२

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगर


काठमाडौँ । काठमाडौँ फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

नगर प्रहरी प्रमुख धनपति सापकोटाले , महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।”

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताउनुभएको उहाँले स्मरणसमेत गराउनुभयो । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।

“महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौँ, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो”, सापकोटाले भन्नुभयो ।

काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले सडक अतिक्रमणलाई नियन्त्रणा गर्ने काम महानगरले गरेको बताउनुभयो । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफुले स्वभाविकरुपमा लिएको उहाँको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताउनुभयो ।

“सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो, आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ”, उहाँ भन्नुहुन्छ ।

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उहाँले बताउनुभयो । सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।

उक्त घटनाको स्मरण गराउँदै उहाँले भन्नुभयो, “साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौँ, तर त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्र्दभ भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।” महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइएको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलङ्की, कालीमाटीलगायत छन् ।

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उहाँ बताउनुहुन्छ । पटक पटकको आग्रहलाई वेवास्ता गरेपछि महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545