चितवनमा हैजाको उच्च जोखिम

चितवन। सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।
भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिनुहुन्छ । उहाँको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उहाँले सुझाव दिनुभयो ।
पौडेलले भन्नुभयो, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उहाँले सुझाउनुभयो ।
सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउनुहुन्छ । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् ।
जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताउनुभयो ।
रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उहाँले बताउनुभयो ।–रासस
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #हैजा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्