Techie IT
शनिबार, वैशाख ६,२०८२

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक बर्ष २०७९/०८० को आर्थिक विधेयक २०७९ को करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्ने विषयमा छानविन गर्न संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।

समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महतो र सुरेन्द्र प्रसाद यादव रहनुभएको छ ।

समितिले आर्थिक बर्ष २०७९÷०८० को आर्थिक विधेयक २०७९ को करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भनी उठेको विषयमा सत्य तथ्य छानबिन गरी सुझावसहितको प्रतिवेदन सदनमा पेश गर्नेछ । समितिलाई प्रारम्भ गरेको मितिले दश दिनको समय दिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५को नियम १७७ बमोजिम विशेष समिति गठनका लागि गर्नुभएको प्रस्ताव संसद्ले पारित गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले आजै संसदमा अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभामा वक्तव्य दिँदै आफूमाथि लागेको आरोप निराधार रहेपनि संसदीय छानविन विशेष समिति गठन भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।

उहाँले आफूले अर्थ व्यवस्था सुधारका विषयमा धेरै काम गरे पनि विपक्षी दलले निराधार आरोप लगाएको भन्दै सत्य तथ्य छानविन गर्न र आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले संसदीय छानविन समिति गठन गर्न माग गरिएको बताउँदै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545