Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि


काठमाडौँ । काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो । उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो “ फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”

विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उहाँले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र  लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताउनुभयो ।

बागबजारका दुई जना १८ र २३ वर्षीय युवतीमा यही असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक÷एकमा मङ्गलवार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सन समेत रहनु भएका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीको प्रदूषण भएर हैजा रोग देखिएको बताउनुभयो । उहाँले बागबजारको पानीको तीन वटा नमुना सङ्कलन गरेर  राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उहाँले पानीको कारणले हैजा भएको आफूले  शङ्का गरे पनि  परीक्षणको रिपोट नआएकन केही भन्न नसकिने बताउनुभयो ।

“हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, ” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “ हामीले घर वरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौ ।”

उहाँले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताउनुभयो । असार २ गते चटपटे खाएपछि ती युवतीलाई मुखबाट उल्टी गर्नुको साथै पखाला लागको थियो ।

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिँगा धन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङ समेत सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोल टोलमा खटाइएको उहाँले बताउनुभयो । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी बोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेष गरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसा पिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसा पिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #हैजा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545