Techie IT
शनिबार, वैशाख ६,२०८२

देउवा र ओलीसँगको भेटवार्ता खुलाउँदै बालेनले के भने ?


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले स्वतन्त्र हुनुको मतलब सबै प्रति निरपेक्ष रहनु भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक गर्दै सकारात्मक परिवर्तनका लागि विशेष र वृहत सोचको आवश्यकता रहेको बताएका छन् ।

उनले काठमाडौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेको उल्लेख गरेका छन् ।

यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको र आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको बालेनले उल्लेख गरेका छन् ।

त्यस्तै, उनले समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन पनि अपिल गरेका छन् ।

बालेनले लेखेका छन्, ‘भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।’

यस्तो छ बालेनको धारणा:

हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।

काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ ।

यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ; आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #बालेन्द्र शाह, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545