Techie IT
शनिबार, वैशाख ६,२०८२

सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनसम्म नटिक्ने सम्भावना : यस्ता छन् टुट्ने कारणहरु


-एसपी उप्रेती

काठमाडौँ, १८ जेठ । स्थानीय निर्वाचनमा बलियो प्रतिपक्षी दल नेकपा (एमाले)लाई हराउनु सफलता ठानेको सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनसम्म नटिक्ने सम्भावना देखिएको छ ।

सत्तासीन पाँच दलीय घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा तथा नेकपा (एकीकृत समाजवादी) पार्टीहको गठबन्धनले तालमेल गरेर लडेको स्थानीय निर्वाचनमा एमालेलाई पहिलो दल हुनबाट रोकेको छ ।

यद्यपि दलहरुले आफ्नै मत गुमाएका मात्रै होइन मतकै आधारमा त अहिले पनि नेकपा एमाले अघि छ ।

यसैबीच गठबन्धन दलका नेताहरुले गठबन्धन टुट्ने संकेत गरेका छन् । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वुधबार कांग्रेसलाई ठेगान लगाउने बताए ।

पछिल्लो समय आफ्नै टाउकाको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गर्ने प्रचण्डले कांग्रेसलाई ठेगान लगाउने भनेर दिएको अभिव्यक्ति आन्तरिक असन्तुष्टिको झल्कोको रुपमा विश्लेषण गरिएको छ ।

उनले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै माओवादीसँग देशलाई जता भन्यो त्यतै लैजान सक्ने शक्ति भएको दावी गरे । त्यसैमा, कांग्रेसलाइ दम्भ नदेखाउन र अन्यथा ठेगान लगाइदिने आशय प्रस्तुत गरे ।

प्रचण्डले कांग्रेसमाथि आक्रोश पोख्नुको पनि कारण छ । गठबन्धनका दलहरुमा आगामी संसदीय निर्वाचनको सिट संख्यामा चरम विवाद छ । अन्य दलहरुले आधा सिट मागिरहँदा कांग्रेस दिन तयार छैन । स्रोतका अनुसार कांग्रेसले एक्लै १०० सिटमा दावी गरेको छ भने बाँकी ६५ सिटमा अन्य दललाई मिलेर जानुपर्ने बाध्यता छ ।

यही कुरामा प्रचण्ड आक्रोशित बनेर कांग्रेसप्रति पोखिएका हुन् । हुन त स्थानीय निर्वाचनकै ताका गठबन्धन टुट्ने अवस्थामा पुगेपछि एमालेसँगै मिलेर अघि बढ्ने प्रचण्डले चातुर्य गर्दैगर्दा कांग्रेस सभापति देउवाले फकाएका थिए । च्याखे थापेर फाइदा लिन माहिर खेलाडी प्रचण्डले अहिले पनि च्याखे थापेका हुन् वा साँच्चै आक्रोशित बनेका भन्नेबारे चाँही खुलेको छैन ।

उता एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनबाट आफूलाई धोका भएको टिप्पणी गरेका छन् ।

नेपालले आफूहरुमाथि गठबन्धनका दलहरुबाट धोका भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । त्यस्तै, झलनाथ खनालले त एमालेसँग छुटिनु गलत भएको निराशा पनि पाेखेका थिए ।

त्यस्तै, गठबन्धनका तर्फबाट विराटनगरको उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उठेका थिए । तर उनी पराजित भए ।  जसपाले २०७४ को स्थानीय चुनावभन्दा कम पालिका जितेको छ । जसका कारण पनि गठबन्धनबाट आफूलाई धोका भएको जसपाको पनि निष्कर्ष छ ।

जुन विषयमा जसपाका संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई पनि स्थानीय पालिकामा गठबन्धन गर्नु गलत भएको स्वीकारेका छन् । उता अध्यक्ष यादवले त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलाई भेटवार्ता समेत गरिसकेका छन् ।

त्यस्तै, कम्युनिष्ट पार्टीहरुबीचको एकतामा कटिवद्ध पार्टीकै केही नेताहरुको समूह अनवरत रुपमा वाम एकताका लागि प्रयासरत छ ।

विशेषगरी एमाले र माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरु यसमा सक्रिय छन् । उनीहरुले सकेसम्म एकता नभए पनि चुनावी तालमेलका लागि नेतृत्वमाथि दवाव सिर्जना गरिरहेका छन् ।

त्यस्तै, राजनीतिक सिनारियो हेर्दा नेपालमा कमयुनिष्ट एकताका लागि चीनले पनि विभिन्न तवरबाट भूमिका निर्वाह गरिरहेको छ ।

विगतमा नेकपाको एकता जोगाइराख्न तथा एमाले र माओवादीलाई एक बनाइराख्न सक्रियता देखाएको चीनले फेरि सक्रियता बढाएको छ ।

विशेषगरी देउवाको नेतृत्वमा अमेरिकी परियोजना एमसीसी पारित भएपछि सशंकित बनेको चीन नेपालमा कम्युनिष्टहरु एक हुनुपर्ने पक्षमा देखिन्छ ।

अझ पछिल्लो घटनाका रुपमा अमेरिकी उपसहायकमन्त्री उज्रा जीया काठमाडौँ आएर तिब्बती शरणार्थीसँग भेटेको प्रति चीनले कूटनीतिक माध्यमले प्रश्न समेत उठाइसकेको छ ।

सदनमा केपी शर्मा ओलीले यस घटनामा प्रश्न उठाएका थिए । माओवादी नेताहरु पनि यो घटनाको विरोधमा देखिएका छन् ।

नेपालमा प्रत्यक्ष रुपमा अमेरिकी दवाव बढ्न थालेपछि चीन झनै सक्रियताका साथ कम्युनिष्टहरुलाई एक बनाउने प्रयासमा लागेको छ । त्यसकाे अर्थ ओली, प्रचण्ड र माधव नेपाललाई मिलाउने नै हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545