Techie IT
आईतबार, वैशाख ७,२०८२

गण्डकी सरकारले हटायो अघिल्लो सरकारले नियुक्त गरेका विभिन्न पदाधिकारी


पोखरा । गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो, उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

‘सरकार त परिस्थिति जन्य विषय हो, कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् । ‘विधि प्रक्रियाबाट नियुक्त भएका हौँ, व्यक्तिगत कुरा होइन, सबै समितिसँग कुरा गर्छौं ।

त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं, कानून अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौँ, हटाउला भन्ने चाहिँ लागेको थिएन, यसरी हटाउनु गैरकानूनी हो, हामी कानूनी उपचार खोज्छौँ ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #गण्डकी प्रदेश सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545