Techie IT
सोमबार, वैशाख ८,२०८२

मिटर ब्याजमा प्रहरी नै सक्रिय : पैसा उठाउन बर्दीको दुरुपयोग


काठमाडौं । छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा कयौँ परिवार बिलापमा रुमल्लिएका छन् । गैरकानूनी मानिएको मिटरब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका छन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप समेत हुन थालेको छ ।

पीडितले बैंकमा जम्मा गरेको भौचर

बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि यतिबेला कयौँको घरबार बिचल्ली भएको छ भने मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा समाजमा सामाजिक, आर्थिक र अपराधको जोखिम समेत बढ्दो छ ।

अनौपचारिक स्रोतहरूबाट अनेकन सर्त मानेर ऋण लिने अनि सर्तहरूमा जेलिएर कर्जा तिर्नै नसक्ने परिस्थितिमा पुगेर आत्महत्या गर्न अग्रसर हुने घटनामा समेत कमी आएको देखिँदैन । अझै सरल भाषामा भन्नुपर्दा ‘मिटर ब्याज’को अवैध धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरीको हो । तर, त्यहीँ नेपाल प्रहरीका केही प्रहरी कर्मचारी भने यतिबेला खुलेआम मिटर ब्याजको धन्दामा सक्रिय भइरहेका छन् ।

मिटर ब्याज’ को धन्दामा संलग्न भएको भन्दै एक पीडितले हेल्लो सरकारमा प्रहरीकै विरुद्धमा उजुरी गरेका छन् । महोत्तरी जलेश्‍वर घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ११ बस्ने नाम परिवर्तित सुरेश कुमार रायले महानगरीय प्रहरी प्रभाग फर्पिङमा कायारर्त प्रहरी हवल्दार सन्तोष कुमार पाण्डेका विरुद्धमा उजुरी गरेपछि उनको कालाकर्तुत छताछुल्ल भएको हो ।

पीडित रायले हेलो सरकार मार्फत सर्लाही साविक सिमरा गा.वि.स वडा नम्बर २ घर भई हाल विष्णु गाउँपालिका वडा नम्बर ६ प्रहरी सेवामा कायारर्त प्रहरी हवल्दार पाण्डे विरुद्ध आफुलाइ ‘मिटर ब्याज’ मा लगाएको पैसा उठाउन बर्दीको दुरुपयोग गरेको आरोप लगाएका हुन् । होटल पछाडी सुनठाउँमा लगी बलपुर्वक जवरजस्ती पचास हजार रुपैयाँको तमसुक कागजमा सही छाप गर्न लगाई कोही कसैलाई भने ज्यान मार्ने धम्की समेत दिई हातपात गरेको रायद्वारा लेखिएको उजुरीपत्रमा भनिएको छ ।

हवल्दार पाण्डेले त्यसरी धेरैलाई पैसा ‘मिटर ब्याज’ मा लगाउने गरेको गुनासो समेत उनको छ । प्रहरी हवल्दार समेत रहेका उनलेे पैसा ‘मिटर ब्याज’ मा लगाइदिने र पछि नउठेको अवस्थामा प्रहरीको बर्दी दुरुपयोग गरेर पीडितलाइ धम्काइ अशुल्ने गरेको आरोप समेत लगाए । प्रहरी हवल्दार पाण्डेले प्रहरीको आवरणमा ‘मिटर ब्याज’ को धन्दा समेत चलाएको हुन सक्ने आंकलन गरिएको छ ।

पाण्डे आफैं र प्रहरी अधिकारीहरु प्रयोग गरेर ‘मिटर ब्याज’ को पैसा अशुल्न थालेपछि पीडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् । त्यसो त पाण्डेको बसाई नै उपत्यकाका प्रहरी कार्यालयमा हुने गरेको छ ।

धनुषा ट्राफिकमा प्रहरी जवान हुँदा बिवादित भएका उनै हवल्दार पाण्डे रसुवा लखटिएका थिए । त्यहाँ हुँदा अकुत सम्पत्ति कमाएको केही हिस्सा उनलेे मिटरब्याजमा लगाएको हुन सक्ने आंकलन गरिएको छ । सोह्रखुट्टेमा प्रहरी हवल्दार भइ बढुवा भएका हवल्दार पाण्डे डेढ बर्ष देखी फर्पिङमा कायारर्त छन् ।

३ वटा खाता, ६ वटा सिम प्रयोग गर्छन्, पाण्डे 
यता, नेपाल प्रहरीका एक प्रहरी हवल्दारले आफ्नो ब्यक्तिगत सिमकार्ड कति बोक्छन् ? उसको साथमा कति वटा मोबाईल होला ? अनि बैंक खाता कति ? चर्को मूल्यमा मिटर ब्याजमा पैसा लगाएर बिवादित भएका प्रहरी हवल्दार सन्तोष कुमार पाण्डेले ०६ वटा सिमकार्ड र ३ वटा खाता प्रयोग गर्छन् । राष्ट्रिय बाणिज्य बैंक बाहेक उनको एनआइसी एशिया, नेपाल बैंकमा समेत खाता छ ।

उनलेे बोक्ने ब्यक्तिगत सियुजी बाहेक ९८०१६**७०९ , ९८४४०**१६२, ९८४१६**०६२, ९८०७६**८००८, ९८५४०**०६२ उनको सिम चालु अवस्थामा छ । यी मध्य अन्य सिमकार्डबाट उनलेे मिटर ब्याजमा लगाएको पैसा उठाउन प्रयोग गर्ने गरेको स्रोतले बताएको छ ।

सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले के गर्‍यो : ने.रा.बैं. पूर्वकार्यकारी निर्देशक थापा

यता, नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन । अनौपचारिक अर्थतन्त्रको फैलावट बढ्दै जाँदा मिटर ब्याजको धन्दा चलाउनेहरूको संख्या बढ्दो देखिन्छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले के गर्‍यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताउँछन् ।

उनका अनुसार पछिल्ला वर्षहरूमा सुरु भएको बैंकहरूको मर्जर प्रणाली र कर्जा दिने सर्तहरूमा गरिएको परिवर्तनले सर्वसाधारणलाई बैंकबाट कर्जा पाउन मुस्किल बन्दै गएको छ । उनले मर्जर नीतिपछि ८८ वटा विकास बैंक २५ मा झरेको र ७९ वित्त कम्पनी मर्ज भएर २२ मा झरेको बताए ।

उनले भने, ‘वित्तीय संस्था र बैंकहरू विकेन्द्रीकरण हुनुपर्नेमा केन्द्रीकृत भए । वित्तीय स्थायित्व भन्दै हामी मर्जरतिर गयौं ।’ उनको बुझाइमा एक समय मध्यम वर्गमा रहेकाहरूले बैंकबाट धितो राखेर कर्जा लिने गरेर आफ्नो आर्थिक अवस्था सुधारेका थिए । पछिल्लो समय त्यसमा कडाइ गरिएकाले ठूलो संख्यामा सर्वसाधारण अनौपचारिक क्षेत्रबाट ऋण लिन थाले ।

हवल्दार पाण्डे भन्छन् : सत्यता छैनन्

यसैबीच, प्रहरी हवल्दार सन्तोष कुमार पाण्डेले भने आफुमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । “साझापाना अनलाइन” संग कुरा गर्दै प्रहरी हवल्दार समेत रहेका आरोपित पाण्डेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै पीडित भनिएका रायलाई आफुले साथीको रूपमा मात्रै चिनेको र कुनै प्रकारको मिटर ब्याजमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

उनलेे भने, यस्मा मेरो कुनै संलग्नता छैनन् । गाह्रो पर्‍यो भनेपछि मैले उनलाई सापटीबापत रकम मात्रै दिएको हुँ । म एउटा प्रहरी हवल्दार जस्तो दर्जाले मिटर ब्याजमा लगाउने पैसा कहाँबाट ल्याउन सक्छौं र ?

साथै, उनलेे पीडित भनिएका युवा रायमाथि बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भइ थुनामा परेको समेत बताए । महानगरीय प्रहरी परिसरमा मुद्दा परेपछि उनी थुनामा परेको र पछि उनको अंकल आएर एक लाख रुपैयाँ खातामा पैसा जम्मा गरे पछि मात्रै निजलाइ छाडिएको हवल्दार पाण्डेले बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545