Techie IT
आईतबार, वैशाख ७,२०८२

शिवशक्तिको उद्योगमा प्रशासनको सिल, सञ्चालक फरार


बारा । अवैध कीटनाशक औषधिको उत्पादन र कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय बाराले यहाँको एक उद्योगमा सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले मौखिक उजुरीको आधारमा बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरस्थित शिवशक्ति बायोप्लान्टिक प्रालिको उद्योगमा माघ ४ गते सिल गरेर कार्वाही प्रक्रियालाइ अगाडि बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा सरोकारवाला निकायहरुको अनुगमन टोलीले इजाजतबेगर अवैध रूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि सो, उद्योगमा सिल गरिएको टोलीका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता (डिएसपी) राजेश थापाले बताए ।

डिएसपी थापाका अनुसार अनुसन्धानको क्रममा गल्ती भेटिएपछि सो उद्योगलाइ तत्कालै सिल गरेर छानबीन प्रक्रियालाइ अगाडि बढाएको बताए । जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी परेको रहेछ । उनलेे भने, अब यस्को बिषयमा थप अनुसन्धान र छानबिन जिल्ला प्रशासनले नै गर्छ ।

यता, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार सो, उद्योगमा भारतीय नागरिकको समूहले बिषादी मललाइ अर्गानिक भनी मानवस्वास्थ्यका लागि घातक रसायनिक बिषादी नेपालका किसानहरुलाई निर्वाध रूपमा बिक्रीबितरण गर्दै आएको भन्ने सूचना पाएपछि अनुगमनमा निस्किएको बताए ।

हामीलाई माघ ०३ गते (सोमबार) चितवनबाट एक जना सेवाग्राहीले तरकारी लगायतका बालीनालीमा छर्किदा मानवस्वास्थ्यमा कुनै हानी नगर्ने अर्गानिक भन्दै गुणस्तरहीन र घातक रासायनिक बिषादी बिक्री गर्ने गरेको सूचना दिनुभयो, लगत्तै हामीले भोलिपल्टै सो, उद्योगका प्रतिनिधिलाइ बोलाएपनि उहाँहरु आउनु भएन, प्रजिअ कट्वालले भने त्यसैले तत्कालका लागी उद्योगमा सिल गरेका हौं ।

उनले भने ‘छानबिन समिति गठन गरिएको छ । अर्गानिक भनेर घातक बिषादी बिक्री गरेको ठहर भए कार्वाही गर्ने छौं । उक्त बिषादी पनि जफत हुनेछ ।’

चितवनबाट मल बरामद
यता, चितवनको ईलाका प्रहरी कार्यालय भण्डाराले गत माघ १ गते (शनिबार) बिरगंजबाट चितवनतर्फ ल्याउँदै गरेको अवस्थामा ना.३.ख १८९ नम्बरको ट्रक सहित ट्रकमा रहेको ३ केजीको धात्रीक ४८९ प्याकेट, केजीको जुपिटर ११ र ५०० मिलिको १३३ मल बरामद गरेको थियो ।

अवैध कीटनाशक औषधिसहित ट्रक आउँदै गरेको सूचना प्रहरी प्रधान कार्यालयले दिएपछि भण्डारा प्रहरीले अनलोड गरिरहेको अवस्थामा उक्त ट्रक र मललाई नियन्त्रणमा लिई चेकजाँच गरेको थियो ।

प्रहरीले बरामद गरेको सो, मलको प्राप्त बिल अनुसार करीब ९ लाख ८० हजार मूल्य बराबरको बताइएको छ । मल सहित पक्राउ परेका तीनै जना लाइ मल कति ल्याएको छ भनी सोधपुछ गर्दा समेत उनीहरुले बताउन सकेका थिएनन् ।

पक्राउ परेका उनीहरुलाइ शनिबार प्रहरी नियन्त्रणमा राखी आइतबार थप कार्वाहीका लागी भण्डारा प्रहरीले कृषि ज्ञान केन्द्र, भरतपुरमा पठाएको थियो । कृषि ज्ञान केन्द्रले पनि कारबाहीको लागी मन्त्रालयमा पत्र पठाएको छ ।

१२ बर्षदेखि किसानहरूलाइ झुक्याउँदै

शिवशक्ति बायोप्लान्टिक प्रालिमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानी रहेको छ । सो, उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिए पनि विषादी अर्थात् कीटनाशक औषधि उत्पादनको स्वीकृत लिइएको भने छैनन् । यसरी नै उनीहरुले बिगत १२ वर्षदेखि किसानहरुलाइ झुक्यानमा पारी बेच्ने गरेका छन् ।

सो, उद्योगले नेपाली बजारमा ५ सयमा पाइने रेग्ने कीरा मार्ने औषधि आधा लिटरको जुपिटर रु २ हजार १ सयमा, गभारो कीरा मार्ने नेपाली बजारमा साँढे चार सयमा पाइने धात्री ब्रान्डको तीन किलोको औषधि चार गुणा महँगो अर्थात् साँढे १७ सयमा, गाँज बढाउने १० किलोको रु चार सयमा पाइने भिग्रोजी औषधि साढे १७ सय, गाँज बढाउने अर्को रु दुई सयमा पाइने एक लिटरको जिल औषधि रु १४ सयमा, माइक्रोन्यूटन रु चार सयमा पाइने पाँच किलोको धनराज औषधि रु १२ सयमा, डिएपी मलको काम गर्ने रु एक हजारमा पाइने ४० किलोको खनिज प्रोम रु २२ सयमा बिक्री गरिरहेको छ । कानुनतः इजाजतबेगर गलत सामान उत्पादन गरी उपभोक्तालाई ठगेको भेटिएको खण्डमा छ वर्षको कैद सजाय छ ।

प्रशासन भन्छ: सञ्चालक सम्पर्कमा आएको छैन
उद्योगका सञ्चालकहरू फरार भएकाले पक्राउ गर्न नसकिएको बारा प्रशासनले जनाएको छ । तर, उद्योगका सञ्चालक भनिने रामाकान्त भारतीसँग बुझ्दा उनले आफू नेपालमैं रहेको जानकारी गराउँदै प्रतिस्पर्धी उद्योगीको उक्साहटमा केहीले उजुरी गरेको र छानबिनका लागी सिलबन्दी गरेको स्वीकार गरे । उनले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने भन्दै पन्छिए ।

स्रोतका अनुसार उद्योगका सञ्चालकहरू अहिले काठमाडौंस्थित विभिन्न मन्त्रालयमा छानबीनको मुद्दा साम्य पार्न दौडधूप गरिरहेको बताइएको छ । उक्त उद्योगले वर्षमा करीब रु १२ करोडको अवैध कारोबार गर्ने गरेको स्रोतको दाबी छ । उद्योगको मुख्य कार्यालय वीरगंज, लिङ्करोडमा स्थित छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545