प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको छ । महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह हुनुहुन्छ । उहाँको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा हुनुहुन्छ । विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले रासससित कुरा गर्दै आफ्नो सपना पूरा भएको बताउनुभयो । उहाँले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो । अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताउनुभयो । नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ ।
राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उहाँको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउनुहुन्छ । पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत हुनुहुन्छ । नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ ।
ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताउनुभयो । दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ । दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध हुनुहुन्न । उहाँ सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आउनुभएको छ । विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल हुनुभएको थियो । त्यही वर्ष पुसमा जारी बरियतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको बरियतामा दाहाल १०औँ स्थानमा उक्लिनुभएको थियो ।
विसं २०७६ चैतमा महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल हुनुभएको थियो । त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर हुनुहुन्थ्यो । मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा हुनुहुन्थ्यो । दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आउनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । यस्तै विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको बरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल हुनुभएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #विश्व ब्याडमिन्टन महासङ्घ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्