Techie IT
आईतबार, वैशाख ७,२०८२

देउवाका ज्योतिषको भविष्यवाणी तोड्ने तयारीमा शेखर कोइराला


काठमाडौं, ६ पुस। हालै कांग्रेस सभापतिमा बिजयी हासिल गरेपछि शेरबहादुर देउवालाई आगामी चुनावपछिको प्रधानमन्त्रीका रुपमा पनि हेरिएको छ। उनका ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी गरे पनि त्यसलाई तोड्ने तयारीमा जुटेका छन् उनीसँग सभापतिमा निकतम स्पर्धा गरेका नेता डा. शेखर कोइराला।

आगामी चुनावमा मोरङ–६ बाट निर्वाचित भएर आएपछि प्रधानमन्त्रीका लागि हुने संसदीय दलको चुनावमा देउवासँग कोइरालाको भिडन्त हुनेछ। कोइरालाले आगामी महाधिवेशनमा सभापति नउठ्ने बताए पनि प्रधानमन्त्रीका लागि आफू सक्षम रहेको र संसदीय दलमा भिड्ने संकेत गरिसकेका छन्।

१४औं महाधिवेशनमा संस्थापनइतरको नेतृत्वमा स्थापित भएका कोइरालाको यो भनाईसँगै बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपनामा पनि ब्रेक लाग्ने निश्चितप्रायः छ। ‘कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने प्रावधान रहेको छ। यसअघि देउवासँग प्रकाशमान सिंह र त्यसअघि रामचन्द्र पौडेलले भिडेका थिए’, एक नेता भन्छन्,‘आगामी निर्वाचनपछि हुने संसदीय दलमा डा. कोइराला भिड्ने निश्चित छ।’

सभापतिमा नै जित निकाल्न सक्ने सम्भावना रहेको भए पनि अन्तिम समयमा आएर प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई सघाएपछि कोइराला रिङ आउट भएका थिए। उनले बरिष्ठ नेता पौडेल पनि आफूतिर नखुलेको गुनासो सार्वजनिक गरेका छन्। तर, कांग्रेसभित्र उनको पहुँच पदाधिकारीसहितमा भएका कारण संसदीय दलमा भिड्ने लगभग निश्चित हुने बताइएको छ।

‘पहिलाको जस्तो चुनावै हारेको खण्डमा त भन्ने अवस्था छैन। तर यस पटक जित निकाल्दै संसदीय दलमा देउवालाई पराजित गरी प्रधानमन्त्री बन्न सक्ने आधार बलियो छ’, स्रोतले भन्यो,‘त्यसको तयारी अहिलेदेखि नै हुनेछ।’

संसदीय दलको निर्वाचन आउनजेलसम्म कोइरालाले विमलेन्द्र निधिको साथ पाउने सम्भावना बढेको छ। महाधिवेशन बाँकी रहेको प्रदेश २ मा भएको सहकार्यले पनि सोही ढंगको संकेत गरेको छ।

उता, निर्वाचनपछि शशांक कोइराला, सुजाता कोइरालालगायत कांग्रेसमा प्रभाव राख्ने अन्य नेता र नेत्रीले पनि कोइरालालाई साथ दिन सक्ने अनुमान गरिएको छ। ‘अहिलेको सरकारको काम र परिणाम कसरी आउनेछ त्यसको मुल्यांकनका आधारमा समीकरण फेरि पनि बदलिन सक्छ’, स्रोतले भन्यो।


क्याटेगोरी : समाचार
ट्याग : #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545