Techie IT
शुक्रबार, चैत्र २८,२०८१

देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री


काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ ।

केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।


क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #देशभर चिसो बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545