Techie IT
शुक्रबार, चैत्र २८,२०८१

वर्षाले पाकेको मार्सीधान नष्ट


खलङ्गा, १० कात्तिक :

अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधानका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको छ ।

तातोपानीबाट पानसय क्षेत्र र कुडारी हुँदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका खेत डुबाएको स्थानीयवासीले बताएका छन् । मार्सीधानको उद्गमस्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढी आएको र ठूला–ठूला काठका पुलसमेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । लाछुज्यूलाको बीचभागमा बाढी पसेपछि मार्सीधानमा क्षति पुगेको छ ।

सोही गाउँपालिका–४ हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत मार्सीधान नष्ट भएको स्थानीयवासी देवीप्रसाद पाण्डेले बताउनुभयो । यहाँका किसानको ५० देखि ६० मुरीको खेतमा उत्पादन हुने धानको फाँटमा नदी बगिरहेको छ । तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ । करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ । पाँच हेक्टर खेत डुबानमा परेको छ । जिल्लामा ९०० हेक्टरमा धान काट्न बाँकी रहेको देवकोटाले बताउनुभयो । रातीमार्सी धान फल्ने सिंजा क्षेत्रमा धान डुबानमा परेर बिग्रेको छ ।


क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #मार्सीधान नष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545