Techie IT
आईतबार, वैशाख ७,२०८२

बदनाम प्रहरीलाइ घुमुवाको अवसर, एसपी मल्ल मौन


गैंडाकोट । नेपाल प्रहरीमा घुमुवा प्रहरी राखी असुली गर्ने प्रचलन हटाउन अनेकौं प्रयास भए । विगतमा प्रहरी प्रमुखको नियुक्ति संगै हरेकले घुमुवा प्रहरीलाई हटाउने भाषण गर्थे । तर, व्यवहारमा कहिले घुमुवा प्रहरी हटेनन् ।

सामान्य रुपमा बुझ्दा घुमुवा प्रहरी भनेको सादा पोशाकका बिना बर्दीका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरी अपराधीक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले खटाइएको हुन्छ । तर, पछिल्ला वर्षहरुमा उनीहरु आफ्नु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय भइरहेका छन् ।

अपराधी पत्ता लगाउनका लागि सादा पोशाकमा खटाउने गरेको भए पनि बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने हुँदै आएको आरोप प्रहरीले बेला बखत भोग्दै आएको छ । माधव नेपाल प्रधानमन्त्री र भीमबहादुर रावल गृहमन्त्री हुँदा तराईका जिल्लामा सशस्त्र समूहको बिगबिगी थियो । त्यति बेला घुमुवा प्रहरीसँग सशस्त्र समूहको कनेक्सन भएको पुष्टि मात्र भएनन् कि उनीहरूलाई प्रहरीको अप्रेसनबारे पहिल्यै सूचना प्राप्त हुने गरेको थियो । त्यहीं सूचनाका आधारमा उनीहरू सुरक्षित रहँदै आएका थिए ।

तत्कालीन गृहमन्त्री रावलले त्यस्ता घुमुवालाई पहाडी र हिमाली जिल्लामा सरुवा गरे । त्यसपछि सशस्त्र समूहको गतिबिधि कमजोर भयो, प्रहरी कारबाहीमा पर्न थाले । क्रमशः सशस्त्र समूह तराईमा निस्तेज मात्र होइन, समाप्तै भएको थियो । घुमुवाहरूले सशस्त्र समूहसँग कनेक्सन गरी हत्या र आतंक फैलाएर असुली गरेको रकमको हिस्सा पाउने गरेका थिए ।

तर, अहिले कार्यालय प्रमुखको रूपमा सरुवा भई आउने इन्चार्जसमक्ष पैसा पुर्‍याउने गतिलो माध्यम नै उनीहरु बनेका छन् । कतिपय कार्यालयमा त प्रहरी निरीक्षकको कमाण्डमा घुमुवा प्रहरीलाई खटाएको हुन्छ भने कतिपय कार्यालयमा असइ ।तर, गैंडाकोट जस्तो संवेदनशील क्षेत्रमा भने प्रहरी जवानको कमाण्डमा बिवादित प्रहरीलाई नै खटाएको पाइन्छ ।

समाजमा शान्ति र सुव्यवस्था कायम गर्न / गराउन प्रहरी संगठनको स्थापना भएको हो । तर, सरकारको नुनपानी खाएर प्रहरी संगठनमा आवद्ध केही प्रहरीको बानी व्यवहारले भने संगठनलाइ नै एकपटक पुनः नराम्रोसंग गिज्याइरहेको छ । गैंडाकोटका एक व्यवसायी भन्छन् :- ‘घुमुवा प्रहरी भनेका त राज्यले नुनपानी दिएको वैधानिक गुण्डा हुन् ।’

को हुन् बदनाम प्रहरी ?
प्रहरी जवान गणेश खनाल २०६४ असोज र अर्का प्रहरी जवान रमेश रानाभाट २०६४ फागुनका भर्ना टोली हुन् । अहिले ईलाका प्रहरी कार्यालय गैंडाकोटमा घुमुवाको टोलीमा खटिएका उनीहरु दुवै प्रहरी कर्मचारी बदनाम रहेको प्रहरीकै तथ्यांकले देखाउँन्छ ।

उनीहरु असुलीमा निक्कै बदनाम मानिन्छन् । यी मध्य प्रहरी जवान खनाल त यसअघि जिल्ला प्रहरी कार्यालय नवलपरासी ( पश्चिम् ) मा कायारर्त हुँदा जिल्ला प्रहरी प्रमुखको रूपमा रहेका तत्कालीन (एसपी) तथा हालका (डिआइजी) मुकुन्द राज आचार्यको कार्यकालमा अवैध रूपमा नदीजन्य पदार्थहरु उत्खन्न गर्न दिएको भन्दै निलम्बनमा परे ।

प्रहरी जवान गणेश खनाल

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका तत्कालीन (एआइजी) कमलसिंह बमले आर्थिक चलखेल गरेर नदीजन्य पदार्थहरुको उत्खनन गराएको प्रमाण फेला परेपछि खनाललाइ निलम्बन गरियो । निलम्बन फुकुवा भएपश्चात पुनबहाली भएका उनलाई जिल्ला प्रहरी कार्यालय गोर्खामा कार्वाही स्वरुप काजमा खटाइएको थियो ।

त्यसपछि २०७५ सालमा पुनः गोर्खाबाट गैंडाकोट पुगेका खनालले केही समय घुमुवाको जिम्मेवारी सम्हाले । उनलाई पुनः गण्डकी प्रदेश प्रहरी कार्यालयका तत्कालीन (डिआइजी) बिनोद शर्मा घिमिरेले धेरै उजुरी आएको भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा २ बर्ष अगाडि प्रदेश प्रहरी कार्यालय तानेको थियो ।

कार्वाही स्वरुप उनलाई प्रदेश प्रहरी कार्यालयमा तानेको भएपनि त्यसबेला भने उनलाई गैंडाकोटका केही राजनीति दलका नेताकार्यकर्ताले बचाएका थिए । नेता कार्यकर्तासँग राम्रो सम्बन्ध बनाउँदै आएका उनले फोन घुमाई पुनः सोही क्षेत्रमा फर्कन सफल भए । अहिले उनलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खनाल पाण्डेले संरक्षण गरिराखेकी छिन् ।

प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल 

प्रहरी निरीक्षक पाण्डेको अपराध नियन्त्रण तथा अनुसन्धानमा दक्ष मानिन्छन् । उनलाई काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत रहदा साँखु क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरणमा नियन्त्रण, भरुवा बन्दुक बरामद, गुण्डागर्दी तथा जुवा नियन्त्रण र चोर पक्राउमा महत्वपूर्ण योगदान गरेको तथा कारवाही गर्न सफल भएको भन्दै नगद रु एक हजार २०० सहित पुरस्कृत गरेका थियो ।

नेपाल प्रहरीको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकेको भन्दै महानगरीय प्रहरी परिसरका तत्कालीन प्रहरी प्रमुख (एसएसपी) हालका (डिआइजी) बसन्तकुमार लामाले सम्मान गरेका थिए । तर, अहिले उनलाई उनैद्वारा घुमुवामा परिचालित प्रहरीहरुले नै बदनाम बनाइरहेका छन् ।

खनाललाई देखावटी रूपमा सवारी चालकमा खटाएको भएपनि उनीहरुको काम भनेको असुली धन्दा नै रहेको स्रोतको भनाईं छ । प्रायः जसो मदिरामा सधैं लठ्ठ भइरहने घुमुवाद्वयलाइ प्रहरी निरीक्षक पाण्डेको कहिँलेसम्म संरक्षण ?

त्यस्तै, अर्का प्रहरी जवान रमेश रानाभाट समेत असुलीमा निक्कै बदनाम र प्रख्यात मानिन्छन् । तत्कालीन समयमा जिल्ला प्रहरी कार्यालय चितवनको घुमुवा हुँदा रानाभाट निलम्बनमा परेका थिए ।

प्रहरी जवान रमेश रानाभाट 

चितवनका तत्कालीन असइ विष्णुबहादुर पौडेलको कमान्डमा रहेका रानाभाटले तत्कालीन (डिएसपी) सञ्जय बहादुर राउतको नाममा अवैध लागूऔषध कारोबारी र अन्य आपराधिक गतिविधि गर्ने गिरोहहरुसँग साठगाँठ गर्ने गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेसँगै तत्कालीन प्रहरी प्रमुख (एसपी) तथा हालका (एआइजी) प्रद्युम्न कार्कीले उनलाई निलम्बन गरेका थिए ।

प्रहरी जवानसंँग डराए (एसपी) मल्ल
सामान्यतः प्रहरी जवान (एसपी) संग डराउन्छन् । तर, ईलाका प्रहरी कार्यालय गैंडाकोटमा कायारर्त घुमुवा प्रहरी जवानद्वय गणेश खनाल र रमेश रानाभाटसंँग भने, जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका (एसपी) प्रकाश मल्ल डराएका छन् ।

दुइ साता अघि गैंडाकोटमा लामो समयदेखि असुली धन्दा चलाउँदै आएका बिवादास्पद दुई घुमुवा प्रहरी जवानद्वयलाइ (एसपी) मल्लले तत्कालै १ घण्टा भित्र रवाना दिनु भनी आदेश गरेपनि पछि उनी र आफ्नै निर्देशनबाट पछि हटेका हुन् । स्रोत भन्छ : उनीहरुले एसपी साहेबकै आशीर्वाद पाएका छन् । अब त हुने केही होईन । यस अघि उनीहरुको बिगतका पाना पल्ट्याएर एसपी साबले निर्णय लिनु उचित हुन्थ्यो तर, चोरकै कुरा सुनेर त्यसैलाई बिश्वास मानी एसपी साब पछि हट्नु भनेको बिभागमा जस्ले जे भनेपनि हुने रहिछ भन्ने प्रमाणित भयो ।

उनलेे थपे, प्रहरी जवान खनालले अहिले हामीलाइ हामीले एसपी साबलाइ तपाईंलाई उजुरी गर्ने उजुरीकर्ता नै गलत रहेको भनेका छौँ, त्यसैले हाम्रो तत्काल रवाना रोकिएको हो । अब जति समाचार आए पनि जतिसुकै उजुरी नै आए पनि वा जसले जे गरे पनि केही हुँदैन, हामीले पनि एसपी साबलाइ खेलाउन त जानेका छौँ नि भन्ने गरिएको बताइएको छ । यहीँ उनीहरुकै गलत रिपोर्टिङले तत्कालका लागी दुवैको रवाना रोकिएको एक प्रहरी हवल्दारले आफ्नो नाम नबताउने सर्तमा बताए । ती प्रहरी भन्छन् : हाम्रो एसपी साब सबैलाई झट्ट बिश्वास गर्ने स्वाभावको हुनुहुन्छ, त्यसैलाई त उहाँलाइ सबैले खेलाइरहेका छन् । तर, बिभागमा यस्तो कुरा बुझ्ने प्रायः कमै मात्रामा भेटिन्छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रहरी प्रमुख (एसपी) प्रकाश मल्ललाई समेत गलत रिपोर्टिङ गरेर घुमुवा प्रहरीहरुले अहिले यस क्षेत्रमा बितण्डा मच्चाउने गरेको स्रोतले जनाएको छ । प्रहरी स्रोत भन्छन् : एसपी साबले समेत चासो दिन छाडेपछि अहिले प्रहरी जवानद्वय गणेश खनाल र रमेश रानाभाटकै कारण नवलपुर प्रहरी पछिल्लो समय बिवादित र बदनाम मात्रै भइरहेका छैनन् कि उनीहरुकै संरक्षणमा जुवा तथा लागुऔषध समेतको खुलेआम कारोबारी भइरहेको जनाएको छ ।

स्रोतका अनुसार अहिले यस क्षेत्रबाट लागूऔषध सेवन तथा ओसारपसार हुने गरेपनि प्रहरीकै सेटिङमा निर्वाधरुपमा आफ्नु काम गर्न पाइरहेका छन् ।

नेपाल प्रहरीमा घुमुवा राख्ने प्रचलन २०३५ देखी 
नेपाल प्रहरीमा घुमुवा प्रहरी राख्ने प्रचलन २०३५ सालबाट भएको हो । त्यतिबेला नेपाल प्रहरीको प्रहरी संगठनको रूपमा नेतृत्व दुर्लभकुमार थापाले गरेका थिए । त्यसबेला प्रहरी न्यून संख्यामा थिए । थापा सूचना संकलनलाई कसरी हुन्छ फराकिलो बनाउनुपर्ने पक्षमा हुन्थें । त्यसले अपराध अनुसन्धानमा मात्र नभइ अपराधको रोकथाममा पनि टेवा पुग्ने उनको विश्वास थियो ।

उनले प्रहरीको मुख्य काम ‘जेनरल पुलिसिङ’ मात्र नभइ अपराधको नियन्त्रण र अनुसन्धान पनि भएको मान्यतालाई अघि बढाउँदै घुमुवा प्रहरी परिचालनलाई प्राथमिकतामा राखे । त्यसयता घुमुवा राख्ने चलन बढेर गएको हो ।

त्यसअघिका स्वर्गीय आईजी खड्गजित बरालको पालामा पनि अपराध अनुसन्धानलाई ‘इफेक्टिभ’ बनाइएको थियो । त्यसपछि नै हो, घुमुवा प्रहरीको दुरुपयोग हुन थालेको पनि । विस्तारै गाँजा खेती र तस्करीमा पनि घुमुवा प्रयोग हुन थाले ।

उनीहरुको संरक्षण र हामिकको आडभरोसामा सीमा नाकाहरुमा तस्करी बढ्यो । त्यहीक्रम बढ्दै जाँदा अहिले घुमुवा प्रहरीको स्थिति उद्देश्य भन्दा ठीक विपरित छ । प्रहरीका कारण संगठन बदनाम भएको भन्दै रमेशचन्द ठकुरी आईजीपी हुँदा गृहमन्त्रालयले घुमुवा हटाउन निर्देशन दिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान मात्रै गर्ने कार्यालयदेखि बाहेकका युनिटबाट विभिन्न चरणमा करिब दुई सय घुमुवा प्रहरीलाई तानेको थियो ।

त्यसवेला गृहले भनेको थियो, ‘अनुसन्धान गर्ने निकायबाहेक सादा पोशाकमा प्रहरी परिचालन नगर्नू । विशेष परिस्थितिमा प्रयोग गर्नु परे माथिल्लो कार्यालयका आदेश लिएर मात्रै घुमुवा राख्नू ।’ केन्द्रमा तानिएका ती अधिकारीहरुलाई बर्दीमा खट्ने गरी अन्यत्र जिल्लाहरुमा पठाइएको थियो । तर, केहीदिनमै ‘पावर एक्सरसाइज’ गरेर कतिपय पुरानै ठाउँमा फर्किए ।

केही घुमुवाका उत्कृष्ट काम
घुमुवा प्रहरी राख्नु नराम्रो भने पक्कै होइन । राम्रो अफिसर खटिएका ठाउँमा तिनै घुमुवाले उत्कृष्ट नतिजा पनि दिएका छन् । किनकि, उनीहरु त्यसक्षेत्रमा हुने अपराधिक गतिविधि र अपराधीबारे जानकार हुन्छन् ।

जनकपुरमा दिवेश लोहनी, उत्तम सुवेदी जस्ता प्रहरी अधिकारीहरुले नेतृत्व गर्दा राम्रो नतिजा देखिएको एक पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) स्मरण गर्छन् । अपराध अनुसन्धानमा उनीहरुलाई प्रयोग गर्दा त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उदाहरण प्रशस्तै भएको उनको भनाइ छ ।

एउटा सफल अनुसन्धानको उदाहरण हेरौंः

१८ जेठ ०६९ सालमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या भएपछि राजधानीमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसवेला जनकपुरमा चोरीका घटना बढिरहेका थिए ।

त्यसक्रममा जनकपुरमा खटिएको घुमुवा प्रहरीको एक टोलीले एकजना आरोपितलाई पक्राउ गर्‍यो । चोरीको केशमा समातिएका उनीमाथि अरु सूचना समेत आउन सक्ने आशंकामा प्रहरी अधिकारीले केरकार जारी राखे ।

जनकपुर बम विष्फोट प्रकरणका विषयमा केही सूचना आउन सक्छ कि भन्ने अधिकारीहरुको आश थियो । त्यसक्रममा प्रहरीले देखाएको प्रलोभनमा पर्दा ती अभियुक्तले आफूलाई एउटा ठूलो अपराधको सूचना भएको बताए । अधिकारीहरुले आश गरेको भन्दा ठूलो सूचना थियो, त्यो । सुरुमा उनीहरुले त्यो विश्वास गर्नै सकेका थिएनन् ।

तर, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्म त्यो सूचना पुगेपछि झापाको बिर्तामोडका शिव भनिने करण चौधरी पक्राउ परे । त्यसक्रममा उनले न्यायाधीश बममाथि आफैंले गोली हानेको बताए । यद्यपि, अझै प्रहरीले उनको भनाइमा शंका गरिरहेको थियो ।

तर, जब उनले मुख्य अभियुक्त बाबु थापाका बारेका थुप्रै विवरणहरु प्रहरीलाई बताए, तब चोरी मुद्दाका अभियुक्तले दिएको सूचना सही ठहरियो ।

करणलाई अनुसन्धान अधिकारीहरुले घटनामा प्रयोग भएको मोबाइलको नम्बर सोधे । उनले पूरै नम्बर त भन्न सकेनन् । तर, अन्तिमका दुई नम्बर दिए । र, प्रहरीले तयार पारेको सूटरको स्केच पनि उनीसँग दुरुस्तै मेल खायो । त्यसपछि घटनामा सहयोगीको भूमिका खेलेका दीपक कर्णलाई पनि पक्राउ गर्न प्रहरी सफल भयो ।

यसरी घुमुवा प्रहरीकै कारण रणबहादुर हत्याको अनुसन्धानमा प्रहरीलाई महत्वपूर्ण क्लू मिलेको थियो ।

घुमुवा प्रहरी नै भन्छन् – शतप्रतिशत चोखो हुन सकिँदैन

जिल्ला प्रहरी कार्यालय नवलपुरमा खटिएका एक घुमुवा प्रहरी आफैंले नै सादा पोशाकमा बसेपछि कोही प्रहरी पनि शतप्रतिशत ‘पवित्र’ हुन नसकिने तर्क गरे । उनले भने, ‘हामीले अपराधीको सूचना ल्याउनुपर्छ भने उनीहरुसँग हिँड्नुपर्छ, संगत गर्नुपर्छ । उनीहरुले भनेका केही कुरा मान्दिनु पनि पर्छ ।’

तर, केही प्रहरीको गलत कार्यले घुमुवा प्रहरी भन्ने शब्द नै बदनाम भएको उनले टिप्पणी गरे । अपराधिक क्षेत्रमा लागेका व्यक्तिसँग विश्वासको वातावरण सिर्जना गर्न पनि कतिपय अवस्थामा गलत कार्य गर्नुपर्ने उनी बताउँछन् ।

यद्यपि, हाकिमको चाहनाअनुसार घुमुवालाई गलत काममा प्रयोग गरिने गरिएको उनी स्वीकार्छन् । कतिपय अवस्थामा भने घुमुवा प्रहरीले हाकिम र अपराधी दुवै पक्षसँग डिल गर्ने गरेको भेटिन्छ । जुन कुरा गम्भीर भएको अनुसन्धानका अधिकारीहरु बताउँछन् ।

अधिकारीहरु भन्छन्, ‘पहिले पहिले वीरगञ्जमा हुने अपहरणका घटनाबारे घुमुवा प्रहरीलाई अग्रिम जानकारी हुन्थ्यो । पैसा जताबाट आउँथ्यो उनीहरु त्यतै लाग्थे । द्वन्द्वको समयमा यो प्रवृत्ति झन् बढी थियो ।’

कतिपय अवस्थामा घुमुवाले व्यक्तिगत स्वार्थ प्रेरित सूचना ल्याउने गरेको अनुभव महानगरीय प्रहरी अपराध महाशाखाका एक पूर्वप्रमुखले सुनाए । उनका अनुसार कुनै एक व्यक्तिको फेरो समातेपछि दुश्मनी भएका अर्को पक्षका सूचना घुमुवाले ल्याउने गरेका उदाहरण पनि छन् ।

जसको एउटा ज्वलन्त उदाहरण हुन्, ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । जसले ३ वर्षको अवधिमा ३८ क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याए ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफ्ना प्रतिष्पर्धी तस्करहरुको सूचना घुमुवामार्फत प्रहरीलाई चुहाउँथे । उनकै सूचनाले थुप्रै पटक सुन समातिएको उच्च स्तरीय छानबिन समितिले समेत खुलासा गरिसकेको छ

घुमुवा प्रहरीको सन्दर्भमा हाल शैलेश थापा नेतृत्वको नेपाल प्रहरीको नीति के छ त ? केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँर भन्छन्, ‘घुमुवा प्रहरीहरु वेलावेला विवादमा आउने गरेका छन् । तर, केही गल्ती भेटेको खण्डमा कारबारी गरेको इतिहास छ ।’

घुमुवा प्रहरी जति विवादित छन्, त्यति वास्तविकता नभएको उनी दाबी गर्छन् । ‘उनीहरु सधैं एउटा समूहको निशानामा हुन्छन् । त्यसैले उजुरीहरु बढी आउने गरेका हुन्’, उनको तर्क छ, ‘घुमुवाको कामले सबै पक्ष सन्तुष्ट नहुने हुँदा पनि विवाद हुने गरेको हो ।’

अहिलेको हाम्रो नीति भनेको घुमुवा राख्ने वा नराख्ने भन्दा पनि गलत काम गर्न निरुत्साहित गर्ने हो’, उनले थपे, ‘त्यसका लागि हरेक ठाउँमा इञ्चार्जले सुपरभिजन गर्छन् ।’ हाल प्रदेश प्रहरी कार्यालयले जिल्लाका घुमुवामाथि निगरानी गर्ने गरेको उनलेे सुनाए ।

घुमुवा प्रहरी हटाउने मुख्यालयको प्रयास असफल
यता, सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन तीन वर्ष अघि प्रहरी प्रधान कार्यालयले थालेको काम अहिले अलपत्र परेको छ । घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो । अहिले पनि देशभरका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन् ।

प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजना अनुसार अहिलेसम्म देशभरका घुमुवा हटिसक्नुपर्ने हो । विभागले तयार पारेको योजना सबै बाट स्वीकृत भई लागू गरिएको थियो । सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो, जुन अलपत्र परेको छ ।

देशभरका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् । कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले घुमुवाहरू प्रहरीमा बदनाम छन् । प्रायः एउटै कार्यालयमा काम गर्ने खराब व्यक्तिहरूसँग सम्बन्ध हुने गर्दछन् । उनीहरूमार्फत नै प्रहरीका हाकिमहरूले पनि ‘सेटिङ’ मिलाएर पैसा खाने गरेको आरोप छ ।

नोट : (“हामी यस बिषयमा निरन्तर फ्लोअपमा रहनेछौं”) साझापाना अनलाइन खोल्दै गर्नुहोला 


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
ट्याग : ##गणेशखनाल #रमेशरानाभाट #एसपीप्रकाशमल्ल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545