Techie IT
आईतबार, वैशाख ७,२०८२

मोटरसाइकल चोरीमा संलग्न “रोहित श्रेष्ठ” पक्राउ परेको एक साता बितिसक्दा समेत चितवन प्रहरीले सार्वजनिक गर्न सकेनन्


चितवन । कुनै कसुरमा कोही अपराधी पक्राउ पर्छन् भने प्रहरीले तत्कालै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । घट्नाको गम्भीरतालाइ हेरेर कुनै घट्नाका अभियुक्तलाई सार्वजनिक गर्न ढिलोचाँडो पक्कै हुन्छ । तर, चितवनमा मोटरसाइकल चोरका प्रख्यात नाइँके रोहित श्रेष्ठ पक्राउ परेको एक साता बितिसक्दा समेत प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न सकिरहेको छैनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको घुमुवा प्रहरी सहायक निरीक्षकद्वय सुरज रिमाल, ठाकुर प्रसाद पनेरु, ईलाका प्रहरी कार्यालय गितानगरका प्रहरी निरीक्षक सुन्दर चापागाईं तथा पार्वतीपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मराज पौडेलको संयुक्त टोलीले श्रेष्ठलाई गत, (सोमबार) दिउँसो अपरान्ह ४ बजे पार्वतीपुरमा रहेको आफ्नै वर्कशपबाट नियन्त्रणमा लिइएको थियो ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई डम्पिङ गरेर राखिएको अवस्थामा २ थान बुलेट मोटरसाइकल, २ थान प्लसर टु ट्वान्टी तथा १ थान एनएस बाइक सहित चोरीका मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका श्रेष्ठमाथि थप अनुसन्धान गर्नका लागी जिल्ला प्रहरी कार्यालय चितवनले (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतमा बुझाएको थियो ।

प्रहरीले चोरी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य सुरु गरे तापनि श्रेष्ठ लाई प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न नसक्नुको पर्दा पछाडी सेटिङ रहेको हुन सक्ने स्रोतले जनाएको छ । श्रेष्ठ पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल धनीलाई सम्पर्क गरेको र उनीहरुले (बुधबार) कार्यालयमा आएर जाहेरी समेत दिएको भए पनि प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न नसक्नुले प्रहरी भित्र चलखेल हुन सक्ने स्रोतले जनाएको छ ।

स्रोत भन्छन् : मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका रोहित श्रेष्ठमाथि अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाई अनुसन्धान भईरहेको भए पनि प्रहरीले यस बिषयमा खुलेर बोल्न नसक्नु तथा सञ्चार माध्यम समेतलाई सूचना नदिनु प्रहरीको कमजोरी हो, उनलेे भने ।

यस्तै, प्रहरीले श्रेष्ठलाइ नियन्त्रणमा लिइएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीको टोलीले उनको वर्कशपबाटै मोटरसाइकलका थप पार्टपुर्जाहरु समेत बरामद गरेको थियो ।

पटकपटक मोटरसाइकल चोरीको अभियोगमा पक्राउ पर्दै छुट्दै आएका श्रेष्ठ देशैभर कहलिएका चोर हुन् । यस अघि चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित श्रेष्ठ सहित चार जनालाई ०७६ असार १३ मा २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुक सहित पक्राउ गरेको थियो । तर, पक्राउ परेको १० दिनमै सार्वजनिक मुद्दा चलाएपछि उनी १० हजार धरौटीमा छुटेका थिए । त्यस समयमा श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट समेत पक्राउ पुर्जी जारी भएको थियो । श्रेष्ठको गिरोहले नक्कली बिलबुक र लाइन्सेन्स समेत बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

चितवनमा अहिले दैनिकजसो ३ देखि ५ वटासम्म मोटरसाइकलहरु चोरी हुने गरेको प्रहरीको तथ्यांक छ । स्रोतका अनुसार श्रेष्ठलाई छुटाउन अहिले माओवादीका नेता केशव पौडेल लगायतका केही कार्यकर्ताहरुले समेत प्रहरीलाई अनावश्यक दबाब दिइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारी बिदामा रहेको समयमा श्रेष्ठलाइ प्रहरीको टोलीले नियन्त्रणमा लिइएको थियो । सो, समयमा चितवन प्रहरीका प्रवक्ता समेत रहेका (डिएसपी) सुर्य बहादुर थापाले निमित्त प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हालेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545