Techie IT
आईतबार, वैशाख ७,२०८२

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी


सुनसरी – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा संयुक्त संघर्ष समितिले बुधबार तालाबन्दी गरेका छन् । चारैजना पदाधिकारीको राजीनामाको माग गर्दै संघर्ष समितिले तालाबन्दी गरेको हो । १६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारी सम्मिलित संघर्ष समितिले चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको भन्दै राजीनामा माग गरेका छन् । समितिले स्वास्थ्यमन्त्री अथवा प्रधानमन्त्रीकै अग्रसरतामा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि माग गरेको छ ।

यसैगरि, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाई उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि संघर्ष समितिले माग गरेको छ । प्रतिष्ठानका सबैजसो पेशागत संगठन, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीले विभिन्न माग राख्दै संघर्ष समिति गठन गरी असार १ देखि उपकुलपति कार्यालय अगाडि धर्ना र विरोधसभा गर्दै आएका थिए ।

डा. एसपी रिमालको संयोजकत्वमा गठित संघर्ष समितिमा प्रतिष्ठानका पेशागतसंगठन, फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी रहेका छन् ।

मंगलबार संघर्ष समितिसँग वार्ता गर्ने तय भए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको संघर्ष समितिका सदस्य रहेका डा. पदम नेपालीले बताए । आफूहरुलाई वार्तामा बोलाएका उपकुलपति डा. गिरी मदिरा पिएर आएकोले वार्ता भंग भएपछि कार्यालयभित्र चुकुल लगाएर बसेको संयुक्त जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्षसमेत रहेका डा. नेपालीले बताए ।

वार्तामा उपकुलपति डा. गिरीसँगै रेक्टर प्रा. डा. गुरुप्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा. दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा. प्रमोद बराल, सिनेटर पशुपति चौधरीलगायत सहभागी थिए । डा.नेपालीले भने ‘मदिरा पिएर आउनुभएको कारण उहाँको बोली समेत लर्बरिएको थियो । त्यसपछि वार्तामा नबस्ने भनेर हामी बाहिरिएपछि भित्र चुक्कुल लगाएर बस्नुभयो । मापसे जाँच पनि गरिएन ।’

गिरीको मापसे जाँच गर्न माग गर्दै संघर्ष समितिले उपकुलपति कार्यालय घेराउ गरेका थिए । चर्को नाराबाजीसहित कार्यालय घेराउ गर्न थालेपछि प्रहरी परिचालन गरी सुरक्षा दिइएको थियो । प्रहरीकै सुरक्षाबीच उपकुलपति गिरीलाई विराटनगरस्थित उनको निवास लगिएको थियो ।


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #धरान, #बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #सुनसरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545