Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाइयो


संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफैँले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । गाउँपालिकाका स्थानीय बिरामी पर्दा अन्य सवारीसाधनले कोरोनाको डरले बोक्न आनिकानी गर्दा र सवारी साधन पनि पर्याप्त नहुँदा गाउँपालिका अध्यक्ष शेर्पाले आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने गर्ने निर्णय गर्नुभएको हो ।

विश्वभर दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणदर बढिरहेको अवस्थामा प्रसूतिलगायत जटिल रोगका बिरामीलाई समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
यातायात साधनको अभावमा अन्य सेवाग्राहीलाई एम्बुलेन्सको अभाव नहोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

चिचिला गाउँपालिकाको स्वामित्वमा एउटा एम्बुलेन्स छ । उक्त एम्बुलेन्सले कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिहरूलाई मात्रै बोक्ने गरेको छ । सोही एम्बुलेन्सबाट अन्य मानिसलाई समेत सेवा दिँदा असुरक्षित हुने डरले अध्यक्षले प्रयोग गर्ने गाडीलाई नै एम्बुलेन्सको रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ । चिचिला गाउँपालिकाले यसअघिको गाउँसभाबाट गर्भवती र प्रसूतिहरूलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा दिँदै आएको छ ।


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #एम्बुलेन्श, #कोरोना, #चिचिला गाउँपालिका, #संखुवासभा



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545