Techie IT
शुक्रबार, चैत्र २८,२०८१

चितवनको माडीमा दुइ प्रहरी चौकीको उद्वाटन ( फोटो फिचर सहित )


चितवन । चितवनको माडीमा दुइ वटा नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरिएको छ । माडी नगरपालिकाको वर्डा नम्बर ६ मा रहेको प्रहरी चौकी कल्याणपुर र वर्डा नम्बर ९ मा रहेको प्रहरी चौकी सोमेश्वरको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उद्वाटन गरेका हुन् ।

नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै प्रदेश प्रहरी  कार्यालयका प्रमुख लामाले प्रहरी समाजप्रति उत्तरदायी हुनुपर्ने बताउँदै जनतालाई सुरक्षामा अनुभूति दिलाउँदै अपराधरहित समाजको निर्माणमा प्रहरी लाग्नुपर्ने बताए । चालु आर्थिक वर्षमा बागमती प्रदेशभरी ४६ वटा प्रहरी चौकीको भवन निर्माण गरिने र त्यसमध्य माडीमा दुई वटा भवन सहित हालसम्म ३४ वटा निर्माणकार्य सम्पन्न भइसकेको र वाँकी अन्य १२ वटाको निर्माण कार्य जारी रहेको उनलेे बताए ।

त्यस्तै, सोही कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओमप्रसाद अधिकारीले माडीमा प्रहरी चौकीको निर्माणकार्यले राम सीताको मुर्ती संरक्षणसँगै माडीमा आउने पर्यटकहरुलाई थप सुरक्षित महसुस गराउन यसले थप सहयोग पुग्ने बिश्वास दिलाए । साथै, उनलेे चितवनमा पाँच वटा भवन निर्माणको योजना रहेको भन्दै भवनका लागी आवश्यक फर्निचर, कम्पाउण्डीङ लगायतका कार्यमा सहयोग गरिदिन समेत स्थानीयलाई आग्रह गरे ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट बनाइएको डिजाइन अनुसार भुकम्प प्रतिरोधात्मक उक्त नवनिर्मित भवनहरु साँढे दुई तल्ले रहेका छन् । भवनको माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुखको निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ भने, भुईं तल्लामा कार्यालय प्रयोजनका लागी २ वटा कोठा र शौचालय, २ वटा महिला तथा पुरुषका लागी हिरासत कक्ष, पहिलो तल्लामा एउटा जुनियर प्रहरी अधिकृत बस्ने आवास, पुरुष तथा महिला जनशक्तिका लागि दुई वटा ब्यारेक, माथिल्लो तल्लामा एट्याच शौचालय सहित कार्यालय प्रमुख निवास, संचार कक्ष, भान्छा कोठा र डाइनिङ हल सहितको सुविधा रहेको छ ।

थुनुवा कक्षसहितको प्रहरी कार्यालय तथा ब्यारेक निर्माणका लागि वि.सं. २०७६ असार १ गते बिरुवा/के एण्ड जे जेभी सिन्धुपाल्चोकले ठेक्का पाएको थियो ।  वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको रु एक करोड ६३ लाख ६१ हजार ९३४ आर्थिक सहयोग गरेको उक्त भवनमध्य कल्याणपुरमा १ कठ्ठा १६ धुर जग्गा र सोमेश्वरमा पाँच कठ्ठा जग्गामा कार्यालय भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाका सुरक्षा शाखा प्रमुख ज्ञानदीप राई, बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) शान्तिराज कोइराला लगायत स्थानीयको सहभागीता रहेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545