यस्तो छ तोरीको तेल बालेर बनाइएको ऐतिहासिक सुरुङ

खोटाङ, ४ फागुन । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ ।
हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै मात्रामा पानी सञ्चालन हुन्छ ।
बिनाप्राविधिक स्थानीय कामदार लगाएर निर्माण गरिएका सिँचाइ कुलोमा १२० मिटर लामो पहाड छेडिएको सुरुङसमेत पर्दछ । स्थानीय लोचाखोला मुहान भएको सिँचाइ कुलोको हौँचुरस्थित प्रिमाकोटगढीमा पर्ने सुरुङ दियालो (सल्लाको चोइटा), तोरीको तेल र मैनबत्ती बालेर निर्माण गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
करिब चार वर्षमा सञ्चालनमा ल्याइएको सिँचाइ कुलो निर्माण सम्पन्न गर्न रु एक लाख २० हजार नगद र ८० मुरी अन्नबाली खर्च भएको तत्कालीन हौँचुर गाउँ पञ्चायतका उपप्रधानपञ्च एवं निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कार्कीले बताए ।
“हाम्रो गाउँमा सिँचाइ नहुँदा मकै, कोदो, फापरलगायत वर्षे बालीमात्र उत्पादन हुन्थ्यो”, उनले भने, “चन्दा सङ्कलन र श्रमदान गरेर निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा ल्याइएपछि दुई बाली धान, मकै, गहुँ, जौलगायत बाह्रै महिना तरकारी, फलफूलसमेत उत्पादन गरिरहेका छौँ ।”
हौँचुरका स्थानीय बासिन्दा खगेन्द्र कार्की, प्रल्हाद कार्की, डम्बरबहादुर कार्की, बाबुराम कार्की, लोकबहादुर श्रेष्ठ, दलबहादुर कार्की, हीरालाल विश्वकर्मा, कुमार विश्वकर्मा र ताराबहादुर ढकालले चन्दा तथा अन्नबाली सङ्कलन गरेर सिँचाइ कुलो निर्माण गरेको जनाइएको छ ।
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१ कुइभिरका बीर्खबहादुर मगरले जिम्मा लिएको सुरुङ निर्माणमा हौँचुरका बीर्खबहादुर कार्की र तम्बरबहादुर कार्की (दुवैको मृत्यु भइसकेको) तथा चङ्खु नेपाली र सरुने नेपाली (जीवितै) कामदार रहेका थिए ।
सुरुङ निर्माणमा खटिएका कामदार भारतको सिलाङ गएर कोइला काटेर फर्किएका व्यक्ति रहेको उपभोक्ता समितिका सदस्य डम्बरबहादुर कार्कीले बताए ।
“कोइला काट्दा सुरुङभित्रै पसेर काट्नुपर्छ”, पूर्व भारतीय सेनासमेत रहेका कार्कीले भने, “सुरुङभित्र काम गर्न सामान्य व्यक्तिमा ज्ञान नहुने भएकाले उनीहरुलाई हाम्रो सिँचाइ कुलोको लागि निर्माण गरिएका सुरुङको पनि जिम्मा दिएका हौँ ।”
मुहानतर्फको कुलो रु ५० हजार र चालीस मुरी अन्नमा निर्माण सम्पन्न गरिएको सिँचाइ योजनामा १२० मिटर सुरुङ रु ३५ हजार नगद र चालीस मुरी अन्नमा सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
“अध्यारो सुरुङभित्र कामदारका लागि उज्यालो बनाउन दियालो (सल्लाको चोइटा), तोरीको तेल र मैनबत्ती प्रयोग गरेका थियौँ”, अध्यक्ष कार्कीले भने, “कुटोकोदालो, झम्पल र गैँती प्रयोग गरेर निर्माण शुरु गरिएको सुरुङ करीब वर्षदिन नपुग्दै सम्पन्न गरेर सञ्चालनमा ल्याइयो ।”
सिँचाइ कुलो निर्माणका लागि कृषि विकास बैंक शाखा कार्यालय खोटाङबाट रु ६० हजार ऋण लिएर काम सम्पन्न गरेपछि फिर्ता गरिएको जनाइएको छ ।
स्थानीय बासिन्दाको आफ्नै लगानीमा निर्माण गरिएको सिँचाइ कुलो सञ्चालनमा आएको लामो समयपछि चार वर्षअघि सिँचाइ डिभिजन कार्यालय खोटाङको आर्थिक लगानीमा स्तरोन्नति गरिएको उपभोक्ता समितिले जनाएको छ ।
हिउँद/वर्षा उत्तिकै पानी सञ्चालन हुने सिँचाइ कुलोले हौँचुरवासीको जीवनशैलीमा नै परिवर्तन आएको वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ ‘राजु’ले बताए ।
“पिउनसमेत धारा तथा कुवाको पानी उपभोग गर्न बाध्य हौँचुरबासी सिँचाइ कुलो सञ्चालन भएपछि हर्षित छन्”, उनले भने, “पानी अभावमा बसाइँ सरेकाहरु पनि पुनः गाउँ फर्किएर खेतीपाती लगाएर जीवन निर्वाह गरिरहेका छन् ।”
सिँचाइ कुलोबाट आएको पानी धान, गहुँ, मकै, आलुलगायत विभिन्न प्रजातिका तरकारी तथा फलफूलमा उपयोग गरेर बढी भएपछि बेँसी क्षेत्रमा समेत पठाउने गरिएको उपभोक्ता समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यस्तो छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्