Techie IT
शनिबार, वैशाख ६,२०८२

मुस्ताङ किन जाने ? यस्तो छ मुस्ताङ घुम्न जानुका कारण


अर्जुन पोख्रेल
मुस्ताङ – ‘यो साल अचम्मै भयो, हामीले सोँचेका पनि थिएनौं, अनि हामी तयार पनि थिएनौं, तर जे सोँचेका थिएनौं त्यै भयो’ नसोँचेको हुँदा जोमसोमको कालीगण्डकी गेष्ट हाउसका सञ्चालक अमर भट्टचनलाई नसोचेकै कुरा भएकोले मालामाल भएको छ । मालामाल जोमसोममा मात्र होइन, म्याग्दीको बेनीदेखि मुस्ताङको लेते, मार्फा, जोमसोम, कागबेनी मुक्तिनाथ, लोमान्थाङ लगायतका ठाउँमा पनि उत्तिकै छ ।

‘पहिला देश घुमौं, अनिमात्र विदेश घुम्ने हो’ भन्ने अवधारणा बलियो हुँदै गएपछि नेपालका सुन्दर ठाउँमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । यो अवधारणाले सबैभन्दा फाइदा मुस्ताङलाई पुग्यो । २र४ वर्ष अघिसम्म विदेशी धेरै देखिने मुस्ताङमा अहिले नेपाली भरिभराउ छन् । बच्चाबच्चीदेखि बुढाबुढीसम्म मुस्ताङ पुगेका छन् ।

मुस्ताङमा के छ ?

एक बाक्यमा भन्नुपर्दा मुस्ताङमा ‘स्वर्गको टुक्रा’ छ । काठमाडौंबाट जम्मा साढे तीन सय किलोमिटरको दूरी पार गरेपछि त्यो टुक्रा भेट्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जाने गाडीमा चढेपछि गाडीबाटै नै धेरै मनमोहक दृष्यहरु देखिन्छन् । मुस्ताङको लेते पुगेपछि सुरु हुने कालीगण्डकीको सुन्दर बगरले नै धेरैको मन तान्न सुरु गरिसकेको हुन्छ ।

कालीगण्डकीको तिरमा बसोबास गर्ने नागरिकको जैवनशैली पनि उत्तिकै सहज र चाखलाग्दो छ । मार्फा, टुकुचे लगायतका क्षेत्रमा बारीभरी लटरम्मै फलेका स्याउले कसको मन नतान्ला रु जोमसोम पुगेपछि वास्तविक मुस्ताङको सौन्दर्य देखिन थाल्छ । मान्छे नै उडाउला जस्तो हावा, बिचमा हिउँ पग्लेर आएको कालीगण्डकी, कुनापट्टी डरलाग्दा पहाड अनि दक्षिणतिर टाउकैमाथिको निलगिरी हिमालले घुम्नेहरुको मन फुरुङ्ग बनाइदिन्छन् । बथानका बथान भेडा च्यांग्रा अनि गधा पनि शहरबाट गएकाहरुको मुख्य आकर्षण हुन् । केही माथि गएपछि चौरीका बथान पनि देखिन्छन् । हामीले उत्तरमा देख्दै आएका हिमाल जोमसोम पुगेपछि दक्षिणतिर देखिन्छन् । बिहानको समयमा जता हेरेपनि हिमालै हिमाल देखिन्छन् । दिउँसो भने हिउँ पग्लेर पहाड देखिन्छ ।

समुन्द्र सतहदेखि २७ सय १० मिटरको उचाइमा रहेको जोमसोमबाट कागबेनी र मक्तिनाथसम्म सहजै गाडी पाइन्छ । मुक्तिनाथबाट जति माथि गयो उति सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगर देख्न पाइन्छ । दर्जनौं ठाउँमा कालिगण्डकी तर्नुपर्छ । मन फुरुङ्ग बनाउन अन्य कुरा हेर्नै पर्दैन, विभिन्न स्वरुप र रंगका पहाड हेरे मात्रै पनि पुग्छ । जब कागबेनीबाट मुक्तिनाथतर्फ उकालो लागिन्छ, त्यहाँको सुन्दरता शब्दले वर्णन गरेर सकिंदैन । तलपट्टी निकै पुरानो कागबेनी बजार, छिनछिनमा बाटो फेर्ने कालिगण्डकी अनि निलो आकासमुनिका चुच्चे हिमाल सबै आकर्षणका केन्द्र हुन् ।

मुक्तिनाथ पुगेपछि प्रकृतिको सुन्दरतासँगै धार्मिक सुन्दरता पनि देखिन्छ । नेपालीसहित विभिन्न देशबाट पुगेका पर्यटकले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्छन् । मनले चिताएको पुग्ने विश्वास रहेकाले मुस्ताङ पुग्ने धेरैजसो मुक्तिनाथ पनि पुग्छन् ।

कसरी पुग्ने मुस्ताङ ?

हिमालपारीको जिल्ला निकै टाढा होला भनेर धेरैजना आत्तिएका हुन्छन् । तर काठमाडौंबाट मुस्ताङ ४ सय किलोमिटर पनि टाढा छैन । काठमाडौंबाट म्याग्दीको बेनीसम्म सजिलै बस पाइन्छ । बेनीबाट बिहानको समयमा सिधै जोमसोमको लागि बस र जीप पाइन्छ । तर पर्यटक बढी जाने सिजनमा भने बिहानै टिकट सकिन्छ । त्यसो भएमा बेनीबाट मुस्ताङको घाँसासम्म अनि त्यहाँबाट जोमसोमको लागि बस पाइन्छ । जोमसोमबाट कागबेनी मुक्तिनाथसम्म पनि सजिलै बस जीप पाइन्छ । माथिल्लो मुस्ताङ नै पुग्ने योजना भएपनि कागबेनीबाट छुसाङ अनि त्यहाँबाट लोमान्थाङसम्म जीप पाइन्छ । गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ । तर लामो समय नै घुम्ने योजना भएकाहरुलाई ट्रेकिङ उत्तम विकल्प हो ।

कत्तिको महँगो छ त ?

काठमाडौंबाट ८ सय रुपैयाँमै बेनी पुगिन्छ । बेनीमा ५ सय रुपैयाँमा होटल पाइन्छ खाना पनि खास महँगो छैन । बेनीबाट ९ सय रुपैयाँमा जोमसोम पुगिन्छ । त्यहाँ पनि १ हजारमा कोठा र ५ सय रुपैयाँ छाक खाना पाइन्छ । स्थानीय दाल र चामलको खाना निकै स्वादिलो हुन्छ । जोमसोबाट झण्डै तीनसय रुपैयाँ भाडा तिरेपछि मुक्तिनाथ पुगिन्छ । १० हजार रुपैयाँ खर्च गरेमा मुक्तिनाथ पुगेर कागबेनी जामसोम लगाएका ठाउ घुमेर काठमाडौं फर्कन सकिन्छ । माथिल्लो मुस्ताङ भने केही महँगो छ ।

मुस्ताङमै किन बढे पर्यटक ?

हिमालपारी जिल्ला भएकाले पनि मनाङ र मुस्ताङ धेरै टाढा हो भन्ने धेरैको मनमा थियो । कतिपयको मनमा अझै पनि छ । तर हिमाल पारी नै भएपनि मुस्ताङ टाढा छैन । स्वर्गको टुक्रा उपमा पाएको मुस्ताङ हेर्न धेरै टाढा जानु पर्दैन र धेरै खर्च गर्नुपनि पर्दैन भन्ने सोँच बढाउन दुईवटा कुराले मुख्य भूमिका खेलेका छन् ।

१मुस्ताङमा छायाँकन भएका फिल्म

तपाईं मुस्ताङ नै घुम्न आउनुभयो त रु मुस्ताङ पुगेका धेरैको जवाफ थियो, ‘यता सुटिङ भएका फिल्ममा देखाइएको दृष्यले मन थाम्न सकिएन अनि आइयो ।’ होटल र यातायात ब्यावसायीको पनि कुरा उस्तै थियो । केही फिल्म र म्युजिक भिडियोले मुस्ताङको सौन्दर्यता छताछुल्ल पारिदिएपछि मुस्ताङमा नेपाली खचाखच भरिन लागेका हुन् । कागबेनी, कबड्डी, कबड्डी कबड्डी, जेरी, प्रेमगित लगायतका फिल्म अनि केही म्युजिक भिडियोमा देखाइएका मुस्ताङका लोभलाग्दा दृष्यले पनि धेरैले मन थाम्न नसेकेर मुस्ताङ घुम्न गए । ‘घुम्न जाने प्लान बनाउँदा हामीहरुले धेरै छलफल ग¥यौं, अनि प्रेम गित फिल्ममा देखिएको दृष्यको याद आयो, मुस्ताङ जाने प्रस्तावमा कसैले पनि नाँइ भनेनन्’ कागबेनीमा भेटिएका पोखराका सन्तोष भन्डारीले भन्नुभयो, ‘हामी यहाँ आउने मानसिकता बनाउन फिल्ममो ठुलो रोल छ ।’

२।सामाजिक सञ्जाल

हिजोआज फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालले विभिन्न एजेन्डा खडा गरेका हुन्छन् । मुस्ताङको आन्तरिक पर्यटनमा आएको छलाङ पनि यसैको कमाल हो भन्नेहरु धेरै छन् । मुस्ताङ घुमेर फर्केकाले फेसबुक ट्वीटरमा फोटा हालेपछि कतिपयले तत्कालै घुम्ने योजना बनाइहाल्छन् । ‘मेरो एकजना अष्टे«लियन साथीले मुस्ताङ घुमेको फोटो फेसबुकमा राखेछ, फोटो हेरेपछि मनले मानेन अनि आइयो’ मुक्तिनाथमा भेटिएका काठमाडौंका सागर बोगटीले भन्नुभयो, ‘सामाजिक सञ्जालले पनि घुम्ने ट्रेन्ड स्थापना गरिदिएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय विभिन्न समुहले पनि मुस्ताङ भ्रमणको लागि सहयोग गरेको उहाँको भनाई छ ।

कती नेपाली पुगे भन्ने कुनै तथ्याङ्क छैन

दसैँ तिहारको विचमा मुस्ताङका सडक खाली भएनन् । बस, जीप, र मोटरसाइकलको धुलोले सडकछेउका घर ढाकिए । अरुबेलाको भन्दा दोब्बर संख्यामा बस जीप थप्दा पनि कोचाकोच नै भएको मुस्ताङ जीप तथा बस व्यवसायी समितिले जनाएको छ । बस र जीपमा जत्तिकै पर्यटक मोटरसाइकलमा गए । प्रहरीका अनुसार दसै र तिहारको विचमा मुस्ताङमा २२ हजार भन्दा धेरै मोटरसाइकल पुगेका थिए । एक महिनामा १ लाख भन्दा धेरै नेपाली मुस्ताङ पुगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले विदेशी पर्यटकको तथ्याङ्क राखेपनि नेपाली पर्यटकको भने कुनै पनि निकायरसंघ संस्थाले लगत राखेका छैनन् ।

उज्यालो अनलाईबाट साभार


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुस्ताङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545