दुई देशबीच देखिएको समस्या समाधान गर्ने भारत सकारात्मक
नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ ।
नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् ।
विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई देशको समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताए । ‘वार्ता एकदमै उपलब्धिमूलक भयो,’ उनले भने, ‘वार्ताका एजेन्डा बृहत् रहेको छ ।’ उनले बैठकमा आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।
त्यस्तै भारतीय दूतावासले दुवै पक्षको थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ दूतावासले भनेको छ ।
एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो । सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व शृंगलाले गरेका थिए ।
सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए । साथै विदेशसचिव शृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए ।
विदेश सचिवस्तरीय बैठकपछि भारतीय विदेश सचिव शृंगलाले राजनीतिक भेटघाट गरेका छन् । उनले बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । विदेश सचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुका साथै दुवै देशबीच भएको तिक्तता हटाउने र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएको बालुवाटार स्रोतले जानकारी दियो । साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा भारतीय समकक्षी एस जयशंकरको सन्देश सुनाए ।
शृंगलाले नेपाल र भारतको संयुक्त आयोगको बैठक बोलाउने विषयमा पनि छलफल केन्द्रित गरे । उनले भेटको क्रममा भारत कोरोना भाइरसका लागि उपयोगी २ हजार थान रेमडेभिसर इन्जेक्सन परराष्टमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरे । उनले सो भेटमा भारतले कोभिड १९ को भ्याक्सिन उत्पादन गर्नेबित्तिकै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै नेपाल र भारतको संयुक्त आयोगको बैठकको विषयमा पनि छलफल केन्द्रित भएको छ । सो बैठकको आयोजना अर्को महिना भारतले गर्ने तयारी गरेको छ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिने र हाल विवादमा रहेको लिपुलेक र लिम्पियाधुराको सीमा विवादको विषयमा छलफल केन्द्रित हुने बताइएको छ । निराजन पाैडेलले राजधानी दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्