Techie IT
आईतबार, वैशाख ७,२०८२

किन लुकायो तारकेश्वरले १० दिनसम्म कोरोना परिक्षण रिपोर्ट ?


काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य साखाले कोरोना संक्रमितको १० दिनसम्मको रिपोर्ट सार्वजनिक गरेन । कात्तिक ३ गतेदेखि  १३ गतेसाँझसम्मको रिपोर्ट सार्वजनिक गरेको छैन । पछिल्लोपटक तारकेश्वरमा असोज २८ गते र कात्तिक ३ गते भएको श्वाब संकलनको रिपोर्ट समेत सार्वजनिक भएको छैन ।

तारकेश्वर नगर स्वास्थ्य साखाले कोरोना परिक्षणको रिपोर्ट “हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालीकाको कार्यालय” नामक फेसबुक पेज मार्फत् सार्वजनिक गर्दै आएपनि उक्त पेजमा असोज २३ गतेपछिको रिपोर्ट सार्वजनिक भएको छैन । हामीले यसबारेमा नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीसँग कात्तिक ३ गतेपछिको रिपोर्ट माग्दा उहाँले दिन मान्नु भएन ।

अधिकारीले भने कोरोना श्वाब परिक्षणको रिपोर्ट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत, आइटि इन्जिनियर, सूचना अधिकृत र वडाका अध्यक्षहरुको मोवाइलमा मात्र म्यासेज गरेको बताउनुभएको छ । अधिकारीकाअनुसार नगर स्वास्थ्य साखाले काम गरिरहेपनि नगरपालिकाले रिपोर्ट सार्वजनिक नगरेको बताएका छन् । हामीले यसबारेमा नगरपालिकाको सूचना अधिकृत होमनाथ न्यौपानेसँग बुझ्न खोज्दा उहाँको फोन उठेन ।

काठमाडौंका अरु नगरपालिकाहरुले आफ्नो आधिकारिक पेज र मिडियाहरुलाई इमेल मार्फत् सूचना पठाइरहेको अवस्थामा तारकेश्वर नगर स्वास्थ्य साखाले सूचना नै लुकाइरहेको छ । नगर स्वास्थ्य साखाले श्वाब संकलन र परिक्षणको सूचना बाहिर सार्वजनिक नगर्दापनि नगरपालिकाले स्वास्थ्य साखालाई तत्काल सूचना सार्वजनिक गर्न निर्देशन दिएको देखिन्न ।

५० देखि १५० प्रतिशत तलबबाहेक भत्ता खाने स्वास्थ्यका कर्मचारीहरुले कोरोना संक्रमितको रिपोर्ट माग्दा स्वास्थ्य प्रमुखले नै दिन मानेनन् । तारकेश्वरमा ४–५ जनाको टोली श्वाब परिक्षण कार्यमा हिँडेको भएपनि नगर स्वास्थ्य साखाले फिल्डमा नहिँडेका कर्मचारी र शहरि स्वास्थ्य केन्द्रका प्रमुख भन्दै श्वाब संकलनमा नजोडिएका कर्मचारीहरुलाई पनि भत्ता बाँड्दै आएको छ ।

तारकेश्वर नगर स्वास्थ्य साखाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र न्यूनिकरणका लागि जिम्मेवारीपूर्वक काम नगरेको देखिन्छ । महामारी बढिरहेको अवस्थामा प्रत्येक वडामा शहरि स्वास्थ्य केन्द्रमा ४ देखि ८/१० जनाको स्वास्थ्यको टोली भएपनि आवश्यकताअनुसारको जनचेतनामुलक कार्यक्रम र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरुलाई पौष्टिक आहार र ५००० नगद दिने भनिएपनि वितरण भएको छैन । सुरुमा केही बिरामीहरुलाई ५००० नगद नगरपालिकाले दिएपनि पछिल्लोपटक कसैले पनि नपाएको गुनासो छ । स्वास्थ्यका कर्मचारीहरु होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझ्न गएका छैनन ।

कोरोना संक्रमण भएर रिपोर्ट माग्दा पनि नगर स्वास्थ्य साखाले ६–८ दिनसम्म पनि झुलाएर राखेको बिरामीहरुले बताएका छन् । तारकेश्वर ९ का कोरोना संक्रमित देविलाल पाठकको ६ दिनसम्म पनि रिपोर्ट आएन । परिवारका मानिसहरुले रिपोर्ट माग्न थालेपछि ७ औँ दिन पोजेटिभ भएको रिपोर्ट पठाएको थियो ।

बिरामी भएर सख्त अवस्थामा रुम आइसोलेसनमा बसेका पाठकको दिनदिनै स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि नगर स्वास्थ्य साखाले एकपटक पनि बिरामीसँग सम्पर्क गरेन । स्थानीयहरुले पाठकलाई अस्पताल लैजानको लागि नगर स्वास्थ्यसँग एम्वुलेन्सको सहयोग माग्दा नगर स्वास्थ्य साखाले एकले अर्कोलाई भन्नुभन्दै पन्छाउन खोजेका थिए । बल्लतल्ल एम्वुलेन्स पठाएपनि अस्पतालको व्यवस्था भने नगर स्वास्थ्य साखाले गर्न सकेन ।

तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको बिरामी बोक्न र अन्य प्रकारका बिरामी बोक्नका लागि नगरपालिकाले २ ओटा एम्वुलेन्स तयारी अवस्थामा राखेपनि नगर स्वास्थ्य साखाले एम्वुलेन्स आवश्यक परेको ठाउँमा पठाउन आनाकानी गरिरहेको छ । २ जना चालक र एम्वुलेन्सको तेल मर्मत खर्च नगरपालिकाले गरेर स्वास्थ्य साखा मार्फत् जनताको सेवाको लागि नगरपालिकाले उपलब्ध गराएको एम्वुलेन्सलाई नगर स्वास्थ्य साखाले नगरपालिकाभित्रका भित्रका सामान्य नागरिकहरूले एम्वुलेन्स सेवा पाउन सकेका छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545